राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन
दीपकराज जोशी
राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको पाङ्ग्रा युवाहरूको सहभागिता विना घुम्न सक्तैन र उनीहरू अघिल्लो पुस्ताको विचारधाराका कैदी पनि होइनन् ।
हाम्रो समाजमा जे जति क्रियाकलापहरू हुन्छन्, ती कहीँ न कहीँ राजनीतिसँग जोडिएका हुन्छन् । तर राजनीति गर्न सक्षम राजनीतिज्ञहरूको संलग्नता त्यसमा छ कि छैन सोचनीय विषय हो। किनकि राजनीति गर्नुपूर्व राजनीति गर्नेहरूले समाजमा आफ्नो अस्तित्व बनाउनु पर्छ । जस्तो प्रत्येक विषम परिस्थितिमा सही निर्णय गर्न सक्ने हुनु, समय र कालसँग साक्षात्कार भई भइपरी आउने उतारचढावसँग सामना गर्न तयार हुनु आदि ।
युवाहरू आशावादी गतिशील पात्रहरू हुन् । तर कहिले काहीँ उनीहरूमा अशान्त र भावनात्मक नियन्त्रणको कमी हुन्छ । नेपालमा राजनीतिक परिवर्तन र प्रगतिको प्रक्रियामा युवा एक महत्त्वपूर्ण शक्ति हुनु पर्छ । तर हाम्रो देशमा ७० वर्षमाथिका नेताहरूले देशको नेतृत्व गर्दै आएका छन् ।
धेरैजसो पुराना नेताहरूको क्षमता न हिजो थियो, न आज नै छ । उनीहरूले जे प्रतिज्ञा गरे त्यो कहिल्यै पनि पूरा गरेनन् र गरेको कामको उत्तरदायित्व पनि लिएनन् । लिँदैनन् पनि, किनकि उनीहरू त्यो लायक नै छैनन् ।
नेपालका युवाहरू यस्तो देशमा बाँचिरहेका छन् जहाँ राजनीति गर्ने र सरकार चलाउनेहरू अयोग्य छन् भने स्नातक गरेका युवाहरू रोजगारीको खोजीमा सडकमा भौँतारिइरहेका छन् । एक राम्रो जागिर प्राप्त गर्नका लागि ४ वर्ष डिग्री त्यसमाथि ३-५ वर्षको अनुभवको आवश्यकता पर्छ। तर यहाँ राजनीति गरेर पद लिनेहरूमा न्यूनतम ज्ञान र अनुभव पनि हुनु आवश्यक छैन ।
अन्धोले अन्धोलाई डोहोर्याएर कहाँसम्म लान सक्छ, मार्गदर्शक नै खराब भयो भने गन्तव्यमा कहाँ पुगिन्छ र ? कलेज, विश्वविद्यालय नगई खासै केही पनि दृष्टिकोण नभएकाले कलेज, विश्वविद्यालय गएर दृष्टिकोण बनाएकाहरूलाई पार्टी हाँक्न दियो भने पार्टीको हालत कस्तो हुन्छ अब छिट्टै देखिने छ। युवाहरू निराश हुनुको कारणहरूमध्ये एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।
नेपालको भविष्य राजनीतिक, आर्थिक, कानूनी, आध्यात्मिक र नैतिक मूल्यहरूसहित एक नयाँ प्रकारको सामाजिक सम्बन्धको स्थापनामा निर्भर गर्दछ, जबकि युवाहरूलाई मतदाता समूहको रूपमा वा उम्मेदवारहरूलाई चुनाव जिताउनका लागि मात्र प्रयोग गरिन्छ।
नेपालका युवाहरू अहिले सामाजिक सञ्जालमा यति व्यस्त छन् कि उनीहरू समाज परिवर्तन गर्नका लागि कडी हुनुपर्छ भन्ने कुरा पनि बिर्सिएर सामाजिक सञ्जालमा अल्झिएका छन्। खास परिवर्तनका लागि उनीहरू स्थानीय, राज्य र संघीय स्तरबाट राजनीतिमा भाग लिनुपर्छ। यथास्थितिवादी शक्तिहरूलाई चुनौतीपूर्ण तवरले विस्थापित गर्नमा लाग्नुपर्छ।
राजनीति आमजनताको पक्षमा हुनुपर्छ। राजनीतिमा बौद्धिक युवाहरूको संलग्नताले जनताको पक्ष लिने नीतिहरू उत्पादन गर्दछ। राजनीति समाज परिवर्तन र देशलाई प्रगति पथमा लैजानका लागि सबैभन्दा प्रभावकारी उपकरण हो। राजनीति एउटा यस्तो चीज हो जुन सामाजिक जीवनबाट अलग हुन सक्दैन ।
पक्कै पनि राजनीति नेपाली युवाहरूद्वारा खेलेको भूमिकाबाट अलग गर्न सकिँदैन । परिवर्तनका लागि युवाको सहभागिता धेरै आवश्यक छ । आज धेरै युवाहरू राजनीतिप्रति उदासीन देखिन्छन्, जसको नजरमा राजनीति फोहोरी खेल हो । जसको एक मात्र कारण लोप भइरहेको राजनीतिक मूल्य र मान्यता हो।
युवामा राजनीति र राजनीति गर्नेहरूका प्रति विश्वास घटेको छ। त्यो मर्न लागेको विश्वासलाई फेरि जीवन दिन युवा पुस्ताको नै आवश्यकता पर्छ ।
भनिन्छ, हिरा काट्न हिरा नै चाहिन्छ। त्यस्तै यो परिस्थितिसँग जुध्न पनि युवा नै चाहिन्छ। नेपाली राजनीतिमा युवाहरूले उदाउनका लागि यो एउटा सुवर्ण अवसर पनि हो। युवा नेतृत्व आजको समयको माग हो । जसले देश परिवर्तनको सम्भावनालाई संकेत गर्छ। युवा नेतृत्वले देश बदल्नमा ठूलो भूमिका खेल्न सक्छ।
राष्ट्रको दिशा र लक्ष्य निर्धारण गर्न राजनीतिमा युवाहरूको सहभागिता ठूलो हुन्छ। युवाहरूलाई यो पनि थाहा हुनुपर्छ कि उनीहरू एक राष्ट्रको विकासको नेतृत्व गर्ने अगुवा हुन्।
आजको समयका आशाको किरण हुन् । युवाहरूसँग परिवर्तनको एजेन्टको रूपमा आफूलाई खडा गर्नुपर्ने चुनौती छ, जसको मतलब युवाहरूले आफ्नो देशको प्रगतिको केन्द्रमा हुनका लागि खराब समय र व्यवस्थाका विरुद्ध लड्नुपर्ने हुन्छ। भविष्यमा राष्ट्रको उत्तराधिकारीको रूपमा युवाको भूमिका अविभाज्य छ। युवाहरूलाई अनुत्पादक गतिविधिहरूमा फस्न दिनुहुँदैन जसले उनीहरूको भविष्यलाई नष्ट गर्दछ ।
विवेकशील पार्टी मात्र नभएर नेपाली कांग्रेस र अरू पार्टीहरूमा पनि विस्तारै युवाहरूको संलग्नता बिस्तारै बढ्दैछ । भर्खरै भइरहेको नेपाली कांग्रेसको चुनावमा स्थानीय स्तरमा देखिएको नतिजाले केही आशा भने जगाउँछ । युवा हुनु मात्र पर्याप्त छैन । भोलिको संसारका लागि आजदेखि नै युवाहरूलाई तयार बनाउनुपर्छ । युवा देशको भविष्य मात्रै होइनन्, उनीहरू देशको वर्तमान पनि हुन् । सुन्दर बिहानीले सुनौलो दिन देखाउँछ ।
बधाई छ, चुनाव जितेर आउनु भएका सबै कांग्रेसका युवा नेताहरूलाई। आशा छ, यहाँहरूले एक दिन कांग्रेसको मुहान सफा गर्नुहुनेछ । तर एउटा कुरा भने नबिर्सिनुहोला, तपाईंले सफा गर्नुपर्ने मुहानमा कुनै बेला सुनका टुटी भएका कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता मूर्धन्य व्यक्तित्व पनि हुनुहुन्थ्यो। तर उहाँहरूलाई जालझेल गरेर, दु:ख दिएर, भित्तामा पुर्याएर, सुनको टुटीमा आगो लगाएर गलाउने काम गरी नष्ट गर्ने काम भएको थियो। जसलाई फालेर बाँसको धारा हालेर माटोको भुँड्कामा पानी राख्ने नेतृत्व विकास भएको थियो।
जुन पार्टीमा तपाईं अहिले हुनुहुन्छ, जहाँ उभिनुभएको छ, त्यहाँ राजनैतिक विचार, आदर्श, मूल्य र मान्यता, असल शासन, इमान्दारिता, जनताप्रतिको बफादारिता, राजनैतिक अनुशासन जस्ता कुराको अन्त्य भएको छ, जसले गर्दा कांग्रेसमा हराएका ती सम्पूर्ण थिति बसाल्ने ठूलो जिम्मेवारी तपाईंको काँधमा आएको छ ।
यहाँ त आमाको फरिया बेचेर वेश्यालाई पछ्यौरी किनिदिनेको जमात छ। के तपाईं नेपाली कांग्रेसभित्रको यो भीडलाई हटाउन सक्नुहुन्छ ? यदि सक्नु भयो भने मात्र तपाईंको राजनीति सार्थक हुनेछ। होइन भने अब आउने पुस्तालाई दिने जवाफ तपाईंसँग हुने छैन। भावी पुस्ताले आफूलाई कांग्रेस बनाउनुपर्ने कुनै तुक भेट्टाउने छैनन्।
आज कांग्रेसको बारीमा तुलसी रोप्नुभयो भने तुलसी नै उम्रेला, बढ्ला, तर तुलसी भनेर धतुरोको बिउ रोप्नुभयो भने भविष्यमा कांग्रेसमा तुलसीभन्दा बढी धतुरो देखिने छन् र धतुरोबाट आशा गर्नसक्ने केही हुने छैन ।