मेरो पहिलो डुम्रे, दमौली र बन्दीपुर यात्रा

नवराज न्यौपाने मौन

विक्रम सम्वत २०३३ सालमा म श्री चुँदीबेसी प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ । घरमा दाइ र दिदीहरुले पढेको देखेर मैले सबै अक्षर चिनिसकेको थिएँ । त्यसैले म शिशु कक्षामा भर्ना नभै एकैचोटी एक कक्षामा भर्ना हुन पाएँ । त्यो बेला हाम्रो स्कूल स्याउलाले छएको थियो । तीन कक्षासम्म पढाइ हुने उक्त विद्यालय एकतले र बाँके परेको थियो । पढाइमा मेरो गहिरो रुचि बस्न थाल्यो । विद्यालयमा म सवैको प्रियपात्र बन्दै गएको थिएँ । हरेक दिन प्रार्थना गर्दा विद्यालयमा १५ मिनेट जति पीटी खेलाउने गरिन्थ्यो । त्यो बेला कसैले गल्ती र अनुशासनहीन काम गरेमा कडाभन्दा कडा सजाँय दिने गरिन्थ्यो । म ज्यादै सानो भएकोले दाइदिदीहरुले बोकेर चुँदीखोला तारिदिनुहुन्थ्यो ।

हाफछुट्टी हुँदा विद्यालय अगाडिको खहरे खोलामा कुलो बनाएर खेल्ने गरिन्थ्यो । हिउँदयामको एकदिन प्रार्थनाको समयमा हेड्सरले भन्नुभयो – ’भोलि कसैले पनि कापी कलम नलिइकन रित्तै स्कूल आओ है सबैजना । ’ तर किन रित्तै आउने हो भन्ने कुरा भने खुलाइएको थिएन । भोलिपल्ट हामी सबै रित्तै स्कूल पुग्यौं । प्रार्थना गरेर र पीटी खेलाएर हामीलाई दुई भागमा विभाजन गरियो । ठूला विद्यार्थीलाई एकातिर र साना विद्यार्थीलाई अर्कोतिर छुट्ट्याइयो । म सानो भएकोले साना विद्यर्थीको समूहमा परें । अनि सरले भन्नुभयो –’यो ठुलो ग्रुपका विद्यार्थीहरु हामीसँग जाने ,अनि यो सानो ग्रुपका विद्यार्थिहरु चाहि घर जाने ।

’ म घर जाने समूहमा परें । तर हामी साना पनि सँगै जान चाहन्थ्यौं । कहाँ किन जाने हो भन्ने कुरा कसैलाई भनिएको थिएन । हामी साना विद्यार्थी पनि ’हामी पनि जाऔं’ भनेर पछ्याउदै सेपाबगैंचासम्म आयौँ । तर सरहरुले आधा घण्टासम्म हामीलाई छेकेर राख्नुभयो र ’तिमीहरु घर जाओ’ भनेर डुम्रेतिर लाग्नुभयो । केहीबेरको अन्यौलपछि हामी भानुमार्ग हुँदै दगुर्दै अघि बढ्यौं । छ सय फाँटमा धानको काम गर्दै गरेका अभिभावकहरुले हामीमध्ये कतिलाई च्याप समातेर राखे । मेरो भने त्यहाँ कोही नभएकोले म र अरु ४–५ जना फुत्किन सफल भयौं र फुस्रेटार पुगेपछि अरु साथीलाई भेट्टायौं । सरहरुले गाली गरेर हामीलाई फर्काउन खोज्नुभयो तर हामी मानेनौं र सँगै डुम्रे पुग्यौं । त्यो बेला भानुमार्ग डुम्रेको पुछारमा बन्दीपुर जाने बाटोसँगै जोडिएको थियो ।

डुम्रे पुगेपछि मात्र थाहा भयो कि हामीलाई स्कूल छाउने ढुङ्गा लिन लगिएको रहेछ । डुम्रे बजार सानो थियो ।कतै ढुङ्गाले छाएका र कतै खरले छएका घरहरु थिए । सिमलमाट्टी लाएको पीच सडकमा बस ,ट्रक र अन्य सवारी साधन हुइकिएको देख्दा हामी औधी खुशी भयौं । अनि टाउकोमा छाउने ढुङ्गा बोकेर हामी फर्कियौं । म ज्यादै सानो भएकोले ३ वटा कान्छी ढुङ्गा बोक्न दिइयो । फर्केर भन्सार आइपुग्दा म थकित भैसकेको थिएँ । भन्सारको चौतारोमा आएपछि मेरो एउटा ढुङ्गा अर्को ठुलो विद्यार्थीलाई बोकाइयो । र म दुइटा ढुङ्गा लिएर सकी नसकी विद्यालय फर्किएँ । स्कूलमा ढुङ्गा राखेर घर फर्केपछि बाबाआमाले गाली गर्नुभयो । थकित भएकोले म संसाझैं निदाएछु । दमौली भने म कक्षा ४ मा पढ्दा पहिलो पटक पुगेको हुँँ । त्यो बेला कक्षा ३ सम्म निःशुल्क थियो ।

कक्षा ४ मा पुगेपछि भने छात्रव्रित्तिको लागि फाराम भर्नुपर्ने भयो । त्यसको लागि पासपोर्ट साइजको फोटो चाहिने भयो । अनि सावित्री दिदी ( काकाको छोरी ) र म भएर २०३६ सालमा पहिलोपटक दमौली गयौं । दमौलीमा त्यो बेला अप्सरा फोटो र सम्झना फोटो गरी दुइवटा स्टुडियोहरु थिए । हामीले अप्सरा फोटोमा फोटो खिचायौं र घर फर्कन ढिलो हुने भएकोले नाहाला दिदीको घरमा बस्यौं । र भोलिपल्ट घर फर्कियौं । फोटो पछि स्कूलका सरहरुले ल्याइदिनुभयो । फाराम भरेर छत्रव्रित्ती पनि हात पारियो । त्यो बेला दमौली बजारमा पनि गाउँघरका जस्तै ढुङ्गा र टिनले छाएका घरहरु थिए । पृथ्वी राजामाग्र र मुख्यसडक (सफासडक) मा फाट्टफुट्ट घरहरु थिए ।

जताततै चौर र बारीहरु देखिन्थे । त्यो बेला दमौली सबैतिर घुम्ने अवसर नमिले पनि दमौलीले मलाई मोहनी लगाएको थियो । २०३६ सालमा म ३ कक्षामा प्रथम भएर ४ कक्षामा पुगें । ठीक त्यसैबेला भानु संस्कृत निमावि चुँदीबेसीमा झ¥यो । अनि मैले दाइदिदीले जस्तो रम्घाको उकालो हिंड्नु परेन । २०३६ सालको माघे संक्रान्तिमा माहिला दाइको दमौलीमा व्रतवन्ध गर्ने कार्यक्रम तय भयो । दमौली घुम्ने रहर भएकोले म पनि जान तम्सिएँ ।

बाबाले मलाई पनि लाने सहमति दिनुभयो । अनि मादी र सेती नदीको संगमस्थलमा दाइको र मेरो व्रतवन्ध भयो । राती चौरमा कृषि प्रदर्षनी र कृषि सम्बन्धी डकुमेन्ट्री प्रदर्शनी पनि हेर्ने अवसर मिल्यो । त्यो समय तीजमा यस्तो गीत गाउँथे – ’उहिलेको दमौली टाप्रेघारी टनन ,अहिलेको दमौली मोटर घनन .’ । त्यो बेला गाउँघरतिर पनि विद्यार्थी आन्दोलन शुरु हुन लागेको थियो । ठुल्दाइ एसएलसी परीक्षा दिन बन्दीपुरमा बस्नुभएको थियो । अनि बाबा र म भएर बन्दीपुर गयौं । बन्दीपुरबाट चारैतिर हेर्दा म रोमाञ्चित भएको थिएँ । त्यो बेला औषधी
उपचार गर्न कि आँपपीपल अस्पताल कि बन्दीपुर अस्पताल जानुपर्थ्यो । त्यो बेलाको बन्दीपुरले अहिलेसम्म आफ्नो पहिचान
कायम राखेकै छ । यसरी मेरो बाल्यकालको डुम्रे ,दमौली र बन्दीपुरको यात्रा सम्झनामा ताजा रहेको रह्यै छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button