महामारीमा व्यवसायीको सक्रियता

दमौली खबर संवाददाता
कोभिड १९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा जिल्लाका व्यवसायीको सक्रियता निकै बढेको देखिन्छ । तनहँु उद्योग वाणिज्य संघ अन्तर्गत रहेका ईकाइहरुले सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । ईकाइहरुले कोभिड नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञा प्रभावकारी गराउन खटिने सुरक्षाकर्मीहरुलाई खाजा खुवाउने कार्यमा निकै मेहनतका साथ लागिरहेका छन् । निषेधाज्ञाले बजारमा दिवा समयमा पसलहरु बन्द हुने गरेको र खटिएका सुरक्षा कर्मी चर्कोघाममा भोकै बसेको देखिन थालेपछि दमौली बजार ईकाइका सभापति भूपाल आलेको पहलमा खाजा खुवाउने कार्यलाई तीव्रता दिइएको तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाइका सदस्य सुनिल श्रेष्ठले जानकारी दिए ।

‘शुरुमा हामीले बजारमा खटिनु भएको सुरक्षाकर्मी दाजुभाइ दिदीबहिनीलाई खाजा खुवायौँ । त्यसपछि हामीले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गर्ने काम गरिरहेका छौँ’ श्रेष्ठले भने । त्यस्तै यता अन्य तहमा रहेको ईकाइहरुले निषेधाज्ञा प्रभावकारी बनाउन लागि परेका छन् । कोभिड सङ्कटका बेला खटिएका आपतकालिन क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले थालेको सहयोग सङ्कलन अभियानमा १० लाख रुपैयाँ सङ्कलन भएको छ । संघले थालेको अभियान अन्र्तगत जिल्लाका व्यवसायी तथा देश विदेशका सुभेच्छुकबाट उल्लिखित रकम सङ्कलन भएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘हामीले आह्वान गर्नासाथ स्वतःस्फूर्त सहयोग सङ्कलन भैरहेको छ,’ उनले भने,‘अझै आउने क्रम जारी छ ।’ संघले सङ्कलित रकमबाट आफ्ना एकाईमार्फत सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर दमौली अस्पताल तथा जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई दिंदैछ । यसैगरी शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको कालीभञ्जन गणलाई पनि सहयोग गर्ने संघका महासचिव ईमकुमार मल्लले जानकारी दिए । हालसम्म करिब साढे २ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

बाँकी रकमबाट पनि आवश्यकता अनुसार सहयोग हुने उनले बताए । तनहुँ उद्योग वाणिज्य संघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमार्फत जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारालाई स्वास्थ्य सुरक्षा सामग्री सहायता गरिएको छ । संघका पदाधिकारीहरुले मास्क, सेनेटाइजर, अक्सिमिटर, थर्मो मिटर, गम बुट, डस्टबिन, पीपीई लगायतका स्वाथ्य सामग्री संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । संघले दमौली अस्पतालमा पनि यस्तै सहयोग गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button