साक्षरता अभियानमा महिला समुह

 

दमौली खबर सम्वाददाता
असोज ७दमौली

समग्र देशको विकास गर्न पहिलो आवश्यकता शिक्षा रहेको भन्दै दमौलीका महिलाहरुले वृद्धाहरुलाई साक्षरता बनाउन अभियान सुरु गरेका छन् । महिलाहरुको मात्र समुह रहेको इनरह्लि क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासको समन्वयमा सिकाईको उमेर हुदैन भन्ने मुख्य उद्देश्यका साथ आश्रमका वृद्धाहरुलाई साक्षरता बनाउन लागेका हुन् । व्यास ५ चापघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा रहेका वृद्धा र अन्य बाह्यका वृद्धा सहित १० जनालाई साक्षरता बनाउन अभियान सुरु गरेका हुन् । कार्यक्रमको उद्घाटन गदै शिक्षाविद् बिना कैनीले हरेक व्यक्तिको आफ्नो निजी जीवनका लागि पनि शिक्षाको महत्व रहेको भन्दै शिक्षाको आवश्यकता रहेको बताईन् । उनले भनिन्,‘ आफूलाई आत्मनिर्भर, आत्मविश्वास दिलाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ ।’

उनले अघि भनिन्,‘ राज्यले सबैका लागि शिक्षाको अवधारणा अघि सारेको ०७ सालपछि हो, तर, करिब ७० वर्ष समय बितिसक्दा पनि समग्र शिक्षाको उज्यालो घामको झुल्काले आममहिलालाई छुन सकेको छैन । अझै पनि कुल महिला जनसंख्याको ३५ प्रतिशत शिक्षाको उज्यालो घामबाट वञ्चित भएको बताउदै पछिल्लोसमय यता समग्ररूपमा साक्षरताको दर उल्लेखनीय वृद्धि भए पनि पर्याप्त नदेखिएको बताईन् । उनले महिलाहरुले सुरु गरेको साक्षरता कार्यक्रम उदारणीय रहेको बताईन् । वेदव्यास जेष्ठ नागरिक आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले नारीलाई उचित शिक्षा भएमा एउटा परिवार मात्रै होइन समाज र राष्ट्र नै शिक्षित बन्ने बताईन् । उनले भनिन्,‘सामाजिक, सांस्कृतिक र परिवारका वैचारिक पृष्ठभूमिले महिलाहरूलाई शिक्षाबाट वञ्चित पार्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ’

रोट्रयाक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले महिलाहरूलाई कमसेकम साक्षरता बनाउन सके मात्र पनि परिवार र समाजलाई उनीहरूले गरिबीका दलदलबाट केही हदसम्म माथि उकास्न मद्दत पुग्ने बताईन । उनले भनिन्, ‘बुढेसकालमा समान्य लेखपढ गर्न सकेकामा धेरै कुरामा सहयोग पुग्छ, त्यसैले वृद्धाहरुलाई साक्षरता बनाउन यो अभियान ल्याइएको हो । ’

उक्त सिकाई अभियान १२ दिन सञ्चालन गरिने रोट्रायाक्ट क्लबकी सचिव सुस्मिता रेग्मीले जानकारी दिईन् । उक्त सिकाई कार्यक्रममा स्वास्थ्य सम्बन्धी जानकारी पनि दिईने उनले बताईन् । इनरह्लि क्लब अफ दमौलीकी अध्यक्ष आसा बानियाँको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको सञ्चालन आश्रमकी सचिव निर्मला मल्लले गरेकी थिईन् । साथै कार्यक्रमकी प्रमुख अतिथी कैनीले आश्रमलाई पाँच हजार रकम सहयोग प्रदान गरेकी थिईन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button