स्वार्थका कारण हजारौं कार्यकर्ता महाधिवेशनबाट बिमुख : नेता जोशी

दमौली खबर संवाददाता
साउन ०८, दमौली । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन् । उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप लगाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै जोशीले तनहुँ काङ्ग्रेसका कार्यकर्ताले केन्द्रमा न्यायका लागि पटक–पटक अनुनय गर्दा पनि सुनुवाइ नभएको बताए ।

उनले भने, ‘केही व्यक्तिको स्वार्थका कारण म लगाएत पूर्व सांसद उर्मिला थापा, महासमिति सदस्य शहीद पत्नी बालकुमारी लोहनी, काङ्ग्रेस नेताहरू गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, राम वहादुर घिमिरे, केसरबहादुर गुरुङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, नरेन्द्र थापा, सोलबहादुर मगर, शिक्षक संघ तनहूँका पूर्व अध्यक्ष गणेशबहादुर खत्री, रामवहादुर ढुङ्गाना, बिमल राज जोशी, भानु ११ का नेपाली काँगे्रसका उपसभापति रुद्र नाथ पौडेल, विष्णु प्रसाद पोखरेल, जीतु गुरुङ, नवराज श्रेष्ठसहित हजारौ हजार साथीहरु क्रियाशील सदस्य नवीकरण नगर्नु र नगराउनुका कारण १४औं महधिवेशनबाट विमुख हुनुपरेको छ,’ तनहुँका दुई हजार दुई सयभन्दा बढी कांग्रेसका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर साधारण सदस्यबाट सामूहिक राजीनामा दिँदा पनि केन्द्रीय नेतृत्व संवेदनहीन भएको आरोप लगाए ।

अहिले तनहूँमा यस्ता महत्वपूर्ण साथीहरूको पार्टीमा अनुपस्थिति हूँदा पनि केही स्वार्थी व्यक्तिहरू आफ्नो लागि पार्टी कब्जा गर्न अनुकूल भएको महशूस गर्दै गौरवको अनुभूति गरिरहेको जोशीको आरोप छ । दुईहजार दुईसय जना नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आफ्नो साधारण सदस्य समेतवाट नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा दिंदा पनि पार्टीको केन्द्रीय नेतृत्व संवेदनहिन भएर किन मौन रहेको छ बुझ्न सकिएको छैन भन्दै जोशीले यसरी नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन तनहूँ जिल्लाका इमान्दार कार्यकर्ताहरूको लागि अध्यारो दिन र यो समग्र नेपाली काङ्ग्रेसका लागि पनि शुभ सङ्केत नभएको जनाएका छन् । नेपाली कांग्रेसका सवै पदाधीकारी तथा सदस्यहरुले पार्टीलाइ यो दुश्परिणाममा पु¥याउने कृयाकलापको जिम्मेवारी लिनु पर्ने उनको भनाई छ ।

नेपाली कांग्रेस पार्टि हामी जस्ता हजारौ कार्यकर्ताको रगतले बनेको हो भन्दै जोशीले पार्टिमा पद ओगटेकै कारण पार्टि भित्र यस्तो क्रियाकलाप हुँदा पनि पार्टिमा कार्यकर्ताको योगदानको वास्ता नगरी आफनो स्वार्थकालागी मौन बसेर मुक्ती नपाइने जनाएका छन् । इतिहासको कठघरामा सवै एक दिन उभीनु पर्ने भन्दै उनले यहि परिप्रेक्षमा आज फेरी एक पटक देश भरका निष्ठावान कार्यकर्ताहरु यो प्रवृतिलाइ समाप्त पार्न एकजुट भएर उभिनु परेको समेत बताए ।

अहिले तनहूँको यो आवाज देशभरी व्यक्तिगत स्वार्थका कारण पिडामा परेका कार्यकर्ताहरूको आवाज भएको भन्दै जोशीले तनहूँ काङ्ग्रेसका कार्यकर्ताहरुले केन्द्रमा न्यायकालागी पटक–पटक अनुनय बिनय गर्दा पनि कुनै सुनुवाइ नभएकोले तनहूँका काङ्ग्रेस कार्यकर्ताले यो महाधिवेशन वहिस्कार गर्ने कठोर निर्णय गर्न वाध्य हुनु परेको जोशीले जनाएका छन् । देशभर हजारौं हजार साथीहरू बीपी कोइरालाको सिद्धान्तमा अडिग भएको भन्दै जसरी जस्तोसुकै परिस्थितिमा पनि कुनै प्रलोभनमा नपरी अडिग र अटल भएर रहीरहन जोशीले कार्यकर्तालाई अपिल गर्नु भएको छ ।

‘यस्तो निरर्थक महाधिवेशन आउछ जान्छ, भुलवश, सम्वन्धित व्यक्तीको मन्जुरी विनानै जालसाजी गरी नविकरण गरीएका र झुक्यानमा परी नविकरण गर्ने साथिहरु पनि यो निरर्थक अधीवेशनमा सहभागी नहुनुहोला’ जोशीले विज्ञप्तिमा भन्नु भएको छ ‘हाम्रो कोही आफ्नो र कोही पराइ छैन, हाम्रा लागि यो अधिवेशनमा सहभागी हुने सबै समान हुन्, सबै साथीहरू निरपेक्ष रहनुहोला, निश्चिन्त रहनुहोला’ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button