मानुङकोटमा पर्यटकको घुईचो

दमौली खबर संवाददाता
दमौली, पुस ६ । तनहुँको व्यास नगरपालिका ५ स्थित मानुङकोटमा पर्यटकको घुईचो लागेको छ । पर्यटकको भीड बढेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । विशेष गरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ ।   उनीहरु सूर्योदय हेर्न शुक्रबार साँझ नै मानुङकोट पुग्ने शनिबार  ७ हजार भन्दा बढी आन्तरिक पर्यटकले मानुङकोटबाट सूर्योदयको अवलोकन गरेको माउन्टेन भ्यू टावर होटलका संचालक चुडामणि दाहालले जानकारी दिनुभयो । पर्यटकहरुको भिडका कारण आफुहरुलाई व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको उहाँले बताउनुभयो ।
सूर्योदय र सूर्यास्तका साथै त्यहाँबाट दमौली बजार ढाक्ने गरी देखिने हुस्सु र कुहिरोले पर्यटकहरुको मन जितेको दाहालले बताउनुभयो  । दमौली बजार नै ढाक्ने गरी लागेको हुस्सु कुहिरोले पर्यटकहरुको मन जित्दै आएको व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले बताउनुभयो  ।
शनिबार आगन्तुकहरु को भिडका कारण मानुङकोटमा व्यवस्थापन मिलाउन गाह्रो परेको जानकारी उहाँले दिनुभयो । त्यहाँ रहेका केही रेष्टुरेन्ट, २० वटा भन्दा बढी होमस्टेका साथै टेन्टहरु समेत भरिएर आन्तरिक पर्यटकहरु मुढाको आगो बालेर रात बिताएको उहाँले  बताउनुभयो । उक्त ठाउँमा ३ किलोमिटर बाटोमा कालोपत्रे गर्न बाँकी रहदा पर्यटकहरुले सास्ती व्यहोर्न बाध्य छन । यातायात, खानेपानी, फोहोर मैला व्यवस्थापन त्यस क्षेत्रको चुनौती बन्दै आएको होटल व्यावसायी प्रेम राउतले बताउनुभयो
पर्यटकहरुको संख्या अन्त्याधिक भएपछि भ्यू टावरले समेत नधान्ने हो कि भन्ने चिन्ता त्यस क्ष्ोत्रका बासिन्दालाई पर्दै आएको छ ।
कतिपय आन्तरिक पर्यटकहरु मानुङकोटको फेदीमा रहेको दुना टपरी, माउन्टेन भ्यू र दमौलीका होटलहरुमा बास बसी बिहानीको झिसमिसेमै मानुङ पुग्ने गरेको वडा नं. ५ का सदस्य सुन्दर वाग्लेले बताउनुभयो ।
यस वर्ष पनि मानुङमा अत्याधिक पर्यटकहरु आउने अनुमान वडा कार्यालयले गरेको छ । पर्यटकहरुलाई ध्यानमा राखी होटल र होमस्टेको संख्या बढाउने, सार्वजनिक शौचालय थप्ने, खानेपानीको थप व्यवस्थापन मिलाउने कार्य अगाडि बढाइएको छ वडा सदस्य वाग्लेले भने । मानुङकोटबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकहरुको मन लोभ्याउने गरेको अधिकांश पर्यटकहरुले बताउने गरेका छन ।
त्यहाँबाट लामो रेन्जको हिमाल, लेक, बेसी, टार, मादी र सेती नदीको मनोरम दृश्यले पर्यटकहरु लोभिने गरेको अर्का वडा सदस्य खिम बहादुर थापाले बताए । चापाघाटबाट सवारी साधनमा ७ किलोमिटरको उकालो बाटो चढेपछि मानुङकोट पुग्न सकिनेछ । दमौलीदेखि भने मानुङकोट पुग्न ९ किलोमिटर लाग्नेछ । केही वर्षदेखि निकै भाइरल भइरहेको मानुङकोटको अहिलेसम्म ३ लाख भन्दा बढी आन्तरिक पर्यटकहरुले अवलोकन गरिसकेको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ ।
उक्त ठाउँबाट दिउसोको समयमा समेत लामो रेन्जको हिमाल, लेकबेसी टार, हरियाली वनजंगल, नागबेली परेर बगेको मादी र सेती नदी, बुल्दी र सागे खोलाले उनीहरुको मन लोभिने गरेको वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button