नेतृत्व खोज्दै काँगे्रसमा महिला

सबिन लामिछाने
साउन ०७, दमौली । साउन १२ गतेबाट नेपाली काँगे्रसको वडा तहको अधिवेसन सुरु हुने भएकाले चोक चोकमा अहिले कांग्रेसको महाधिवेसनबारेमा बहस सुरु भएको छ । साउन १६ गते गाउँ–नगर अधिवेसन, साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेसन र प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन साउन २३ गते हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने साउन २६ गते निर्वाचन हुनेछ । प्रदेशमा भदौ १ र २ गते तथा भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेसन हुनेछ ।

अधिवेसनको मिति नजिकिएपछि धेरै मानिस जम्मा हुने ठाउँ नभएपनि कोठाकोठा, सामाजिक संजाल र बाहिर निस्केको मौका छोपेर नेताहरुले अधिवेसनको बहस चलाउन थालेका हुन् । आँफू निकटलाई भोट माग्ने लगायतका काम हुन थालेका छन् । यो ७७ वटै जिल्लामा सुरु भैसकेको बहस हो । तनहँुको राजनीति पनि यो भन्दा फरक छैन । बिस्तारै नेताहरु गाउँ पस्दैछन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण गरेर भएपनि आफ्नो उपस्थिति सामाजिक संजालमा देखाइरहेका छन् । कोही नियमित रुपमा पार्टी संगठनमै छन् । नियमित काम गरेकाहरुले संजालमा फोटो पनि पोष्ट गरेका छैनन् । वडा तहबाटै निर्वाचित भएर आएपछि मात्रै जिल्ला र केन्द्रमा जान पाउने कानूनी प्रावधान कांग्रेसमा छ । अघिल्ला अधिवेसनभन्दा यो अधिवेसनमा क्रियाशिल सदस्यता दोब्बर बढेका छन् ।

त्यसैले अधिवेसन रोचक हुने संभावना छ । आफ्नो पक्षका के कति छन् भनेर उम्मेदवारले पहिचान गर्ने यो पहिलो मौका पनि हो । यसपटकको महाअधिवेशनमा काँगे्रसका महिलाहरुले नेतृत्वको लागि तयारी गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नं १३ बेलवासकी सिर्जना तिवारी महिला संघको वडा सभापति हुन् । कृषि सँगै राजनिति क्षेत्रमा पनि सक्रिय रहेकी तिवारीले अबको काँगे्रसको जिल्ला सदस्यमा उम्मेद्धवारी दिने तयारीमा छिन् । हाल काँगे्रसको जिल्ला सदस्यमा ६ जना मात्र महिला छन् । पार्टीको अहिलेको प्रावधान अनुसार १ तिहाई संख्या महिला हुनुपर्नेछ । महिलालाई आक्षरणको रुपमा भन्दा पनि क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने तिवारीको भनाई छ । उनले भनिन्,‘महिलाको सहभागिताबिना विकास असम्भव छ ।

सबै वर्ग, लिंग र क्षेत्रका मानिसको सहभागिताबिना देश विकास हुनै सक्दैन् । अझ त्यसमा पनि आधाभन्दा बढीको संख्यामा रहेका महिलालाई पाखा लगाएर त कुनै पनि काम सम्पन्न हुने परिकल्पनासमेत गर्न सकिन्न ।’ उनले अघि भनिन्, ‘पार्टीको सभापतिमा पुरुष छ भने उपसभापतिमा महिला राख्न त सकिन्छ होला नी ? ’ काँगे्रसको महाअधिवेशन प्रतिनिधि समेत रहेकी म्याग्दे गाँउपालिकाकी अध्यक्ष मायादेवी रानाले अबको अधिवेशमा वडागत रुपमा महिलालाई सभापतिको रुपमा उठाउन खोजेकी छिन् । उनले भनिन्, ‘अबको महाधिवेशनबाट कांग्रेसको सुनौलो भविष्य निर्धारण गर्ने चुनौतीको अभिभारा बोक्ने नेतृत्व ल्याउनुपर्छ ।

अबको महाधिवेशनमा महिलाले प्रतिनिधित्व मात्रै होइन, नेतृत्व पनि पाउनुपर्छ ।’ व्यास ४की नारायणी अधिकारीले पनि पार्टीमा सक्रिय रहेका र काम गर्न सक्ने क्षमता भएका महिललाई अवसर दिन आवश्यक रहेको बताउँछिन् । उनले भनिन्, ‘राजनीतिमा महिला–पुरुष सबैको समान पहुँच र समान अवसर आजको आवश्यकता हो । पार्टीभित्र महिलालाई संख्यात्मक रूपमा उपस्थिति गराएर मात्र पुग्दैन, गुणात्मक र अर्थपूर्ण नेतृत्व चाहिन्छ ।’ उनले अघि भनिन्,‘नेपाली समाजझैं पार्टीहरू पनि पितृसत्तात्मक चेतनाबाटै परिचालित छन् । महिला स्वयंले हाँकेको पार्टीको राजनीतिले त्यसको जरो हल्लाउन र उखेल्न सक्छ । त्यसैले कांग्रेसको आगामी महाधिवेशनमा महिलालाई प्रतिनिधित्व मात्र नभई नेतृत्व पनि चाहिएको छ ।’ पार्टीको कार्यक्रम र आन्दोलनमा अग्रणी भूमिका खेल्ने महिलालाई काँगे्रसको १४ अधिवेशनले कस्तो भूमिका देला अहिलेको चासोको विषय बनेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button