जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा थाइराइडको उपचार सुरु

दमौली खबर संवाददाता

तनहुँ, फागुन ९ गते
थाइराइडको उपचारको लागि तनहँँु र यससँग जोडिएका छिमेकी जिल्लाका विरामीलाई उपचारको लागि सहज भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले थाईराइडको उपचार सुरु गरेकाले सहज भएको हो । उपचार सुरु भएपछि तनहुँका अतिरिक्त सिमाना जोडिएका कास्की, स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।
सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षणको व्यवस्था मिलाईएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेवा सञ्चालन गरिएपछि थाइराइड परीक्षण नहुँदा विरामीलाई पोखरा, चितवन जानुपर्ने बाध्यताको अन्त्य भएको डा.श्रेष्ठले बताउनुभयो । डा.श्रेष्ठका अनुसार हाल दैनिक १० देखि १५ जना थाईराइडको परिक्षणको लागि आउने गरेका छन् । ‘‘यहाँ सेवा प्रदान गर्नु गर्नु अघि सो सङ्ख्यामा परिक्षणको लागि अधिकांशको पोखरा जानुपर्ने बाध्यता थियो हाल हटेको छ’’डा.श्रेष्ठले भन्नुभयो ।
केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाडजोर्नी विशेषज्ञ डा. विद्याभूषण ताम्राकार, सर्जन डा. परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा.अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएका आएका छन् ।
अस्पतालमा तीन विशेषज्ञ र नामेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनेशनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ । विशेषज्ञ सहितका श्वासप्रश्वाससम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको डा. श्रेष्ठले बताउनुभयो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो । २०६७ मा नेपाल सरकारले श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी वि.सं. २०७३ साउन १ गतेदेखि औपचारिकरूपमा श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

फोटो सामेल छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button