निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस

दमौली खबर संवाददाता

साउन ३२, दमौली । तनहुँमा जारी निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले जिल्लामा कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष सहित भदौ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । वैशाख २४ गते देखि जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै साउन ३२ गतेसम्म लम्बाईएको थियो । जिल्लामा समुदायमा संक्रमण फैलिएको र संक्रिय संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएकोले जिल्लाभर निषेधाज्ञामा कडाई गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनले भने,‘खुकुलो पारिएको निषेधाज्ञामा लापरबाहीको कारणले संक्रमण फैलियो ।

निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गरिन्छ । ’ उनले अघि भने,‘ निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवाना सहित कारबाही गरिनेछ । रोगबाट प्रशासन जोगिने होइन, प्रहरी जोगिने होइन ।’ त्यस्तै यसअघि सञ्चालन हुँदै आएका पसल खोल्ने समय घटाइएको छ । बैठकले तरकारी, फलफूल तथा खाद्यान्न बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्ने भएको छ । यसअघि ती व्यवसाय बिहान ७ देखि साँझ ४ बजेसम्म खुल्दै आएका थिए ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरेको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न भने छुट दिइएको छ । सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी स्वीकृति लिएर सञ्चालन गर्न अनुमति दिइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button