बुद्धसिंह मार्गको समयमै पुरा गर्न मन्त्री चुमानको निर्देशन
दमौली खबर संवाददाता
तनहुँ, फागुन ३
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बुद्धसिंह मार्गको कालोपत्रे कार्य समयमा नै पुरा गर्न निर्देशन दिनु भएको ।
मन्त्री चुमानले सो मार्गको कामको मङ्गलबार निरीक्षण गर्दै सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो । कामको प्रगतिबारे जानकारी लिन र सममया नै काम पुरा गराउने उद्धेश्यले स्थलगत निरीक्षण गरेको मन्त्री चुमानले बताउनुभयो । गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेर बजेट निकासा गरेको छ र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरी प्राथमिकतामा राखेको मन्त्री चुमानले बताउनुभयो ।
गण्डकी प्रदेशलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भन्दै २०४७ सालदेखि बुद्धसिंह मार्गमा ट्र्याक खोल्न थालिएको भए पनि यो मार्ग निर्माण अझै अधुरो छ । हाल बजेट विनियोजन भएपछि पुनः काम अघि बढेको छ । दमौलीदेखि सुढेसम्मको करिब १० किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडाँैले पाएको छ । २०७९ भदौ २७ गते सो निर्माण कम्पनीसँग सम्झौता गरेको हो । यो सडक सात मिटर चौडाइ (दुई लेन)को हुनेछ ।
दमौलीबाट पृथ्वी राजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिंह मार्ग भएर जाँदा २३ किलोमिटर दूरी छोटो पर्ने कार्यालयले जनाएको छ । दमौलीदेखि घुमाउनेसम्म ३२ किलोमिटर दूरी पर्छ । घुमाउनेमा त्रिशूलीमाथिकोे झोलुङ्गे पुल तरेपछि मुग्लिन–नारायणगढ सडक भेटिन्छ । घुमाउने मुग्लिनबाट १३ किलोमिटर अगाडि (नारायणगढतर्फ) पर्छ । कम्तीमा ३३ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । चालू आर्थिक वर्षमा भ्याटसहित ३४ करोड २७ लाख ५४ हजार ५६१ लाखको लागतमा सम्पन्न गर्न सम्झोता गरिएको छ । कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली र १० किलोमिटर अल्फाल्ट पिचका लागि सो बजेट लगानी हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
उक्त मार्गमा करिब चार साना ठूला पुल निर्माण गर्नुपर्ने छ । कार्यालयका अनुसार उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती परियोजनाले डुबानमा पर्ने भएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ । शहीद बुद्धसिंह मार्गले तनहुँमा तीनवटा स्थानीय तहलाई छुन्छ । दमौलीमा ब्यास नगरपालिकाभित्र १४ किलोमिटर पर्छ । बन्दीपुर गाउँपालिकाभित्र ११ र आँबुखैरेनी गाउँपालिकाभित्र सात किलोमिटर खण्ड पर्छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा बुद्धसिंह मार्गको ट्र्याक खोलिएको हो । पृथ्वी राजमार्गको पोखरा र मुग्लिन खण्ड फराकिलो पार्ने काम भइरहेकाले यातायात अवरुद्ध हुन नदिन बुद्धसिंह मार्गलाई प्राथमिकता राख्नुपर्ने देखिन्छ ।