गण्डकी प्रदेशले असार १ गते बजेट ल्याउँदै

दमौली खबर संवादाता
जेठ ३२ दमौली

गण्डकी प्रदेश सरकारले आगामी असार १ गते ल्याउने तयारी गरेको छ । संविधानमै असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यबस्था भएअनुसार प्रदेश सरकारले सोहि मितिमा बजेट ल्याउने तयारी गरेको हो । असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा अर्थमन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बजेटको तयारी लगभग अन्तिम चरणमा पुगेको मन्त्रालय श्रोतले बतएको छ । बजेट निर्माणमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहित मन्त्रालयका कर्मचारीहरु दैनिक १५ घण्टा खटिने गरेको मन्त्री गुरुङका स्वकीय सचिव आर.के. पोखरेलले बताए । विगत १ हप्तादेखि मन्त्री गुरुङसहित मन्त्रालयका सचिव, २ उपसचिवसहित ८ जना कर्मचारी दैनिक विहान ७ बजेदेखि राती १० बजेसम्म मन्त्रालयमै बसेर बजेट निर्माणमा खटिने गरेको उनले बताए । ‘बजेट निर्माणमा खटिदा मन्त्रीज्यूसहितको टिमलाई अहिले खाना खानेसमेत फुर्सद छैन’–उनले भने ।

गण्डकी प्रदेश सरकारले आगामी बजेट चालु आर्थिक वर्षको आकारमै ल्याउने तयारी गरेको छ । विज्ञ तथा कर्मचारीले बजेट घटाउन दिएको सुझावलाई बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जत्रै आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याउने तयारी गरेको हो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट छ । तर झण्डै आधा मात्र खर्च हुने देखिएको छ । बजेट कार्यान्वयनको पुरानै निरन्तरता र नोवेल कोरोना र त्यसलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण बजेट खर्च नभइरहेको अवस्थामा सरकारले चालु आर्थिक वर्षको जत्रै बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । सरकारले स्थानिय तहलाई अघिल्लो वर्षको तुलनामा बजेट बढाउने, वित्तिय हस्तान्तरणको आकार बढाउने, अवण्डा बजेट, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायतलाई समेटेर बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ ।

हामीले बजेट घटाउन सुझाव दिएका थियौं,‘नाम उल्लेख नगर्ने शर्तमा बजेट निर्माणमा जुटेका एक कर्मचारीले भने,‘तर राजनीतिक दवाबका कारण बजेट नघट्ने भो ।’ नेतादेखि कार्यकर्तासम्मलाई चित्त बुझाउनका लागि भएपनि बजेट नघटाउने मुडमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ रहेको उनको भनाई छ । उनले भने,‘परिस्थिति अनुसार बजेट घट्नुपर्ने हो, तर बजेट घट्ने होइन अघिल्लो वर्षको भन्दापनि ठूलो आउँछ ।’

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ ४० प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत हाराहारीको बजेट विनियोजन गर्ने तयारी गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख ध्रुव पाण्डेले जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार अर्थात कुल बजेटको ३८ प्रतिशत र पुँजीगततर्फ १९ अरब ८४ करोड ९० लाख २० हजार अर्थात कुल बजेटको ६२ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले यस वर्ष स्वास्थ्यलाई केन्द्रीत गरेर बजेट विनियोजन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताउँदै आएका छन् । उनका अनुसार बजेट कोरोना केन्द्रीत हुँदै संक्रामक रोग अस्पताल, जिल्ला अस्पतालहरुको स्तरोन्नती, कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगै स्वास्थ्य उपकरणहरुको खरिद गर्नेलगायतमा बजेट केन्द्रीत हुनेछ । त्यसका अलावामा कृषि र रोजगारमूलक क्षेत्रलाईपनि बजेटमा प्राथमिकता दिइने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले प्रदेश गौरव आयोजनाको रूपमा रहेका बृहत पोखरा चक्रपथ र पोखरा–भीमाद–दुम्कीवास द्रुतमार्ग निर्माण आयोजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ । त्यतिमात्र होइन सरकारले प्रदेशको राजधानीलाई जिल्ला सदरमुकाम सम्म जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको वडा केन्द्र जोड्ने क्रमागत सडकलाई प्राथमिकता दिई निर्माण कार्य गर्ने अघिल्लो बजेटको योजनालाई निरन्तरता दिने तयारी गरेको छ ।

सरकारले एक घर एक धारा कार्यक्रम, प्रदेशभित्रको खेतीयोग्य जमीनमा बर्षैभरी सिंचाई सुबिधा पु¥याउने सिंचाई कार्यक्रम, ‘गण्डकी प्रदेश उज्यालो प्रदेश’ घोषणा कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ । प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश सरकारको प्रशासनिक खर्च अघिल्लो वर्षको तुलनामा थप बढ्ने देखिएको छ । ताल विकास प्राधिकरण, गण्डकी विश्वविद्यालय, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठानलगायत थपिएकाले प्रशासनिक खर्च घट्नुको सट्टा बढ्ने अनुमान गरिएको महाशाखा प्रमुख पाण्डेले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button