‘दादुरा रुवेला बाट बच्न अनिर्वाय खोप’

दमौली खबर सम्बाददाता
फागुन २७, दमौली । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित दादुरा रुवेला खोप अभियान चैत १ गते बाट तनहुँमा पनि सञ्चालन हुने भएको छ । ९ महिना पुरा भइ ५ वर्ष नकटेका बालबालिकाहरुका लागी सञ्चालित खोप अभियान तनहुँमा दुई चरणमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो चरणमा चैत १ देखी ९ गते सम्म ३७ वटा वडामा सञ्चालन गरिने र १० देखी १८ गतेसम्म बाँकी ४८ वटा वडामा सञ्चालन गर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । नियमित खोप कार्यक्रम प्रभावित नहोस भन्ने उद्देश्यले कार्यक्रम दुई चरणमा तय गरिएको अधिकारीले बताए । मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गरी दादुरा रुवेला खोप अभियान सम्बन्धी जानकारी गराउदै अधिकारीले यो पुर्ण रुपमा रोग निवारण नभएकाले कुनै पनि बेला महामरीको रुप लिन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरे । “यो रोग निवारणको मुख्य तरिका नै खोप हो,त्यसैले यसबाट कुनै पनि बालबालिका बञ्चित नहोस भनेर हामीले वडाध्यक्षबाट प्रमाणिकरण समेत गर्ने भएका छौँ” उनले भने ।

यो अभियानले दादुराका कारण मृत्यु हुने, आपंगता र रोग लाग्ने दरमा घट्ने अधिकारीले विश्वास व्यक्त गरे । सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको भएपनि अझै केही ठाँउमा दादुरा रुवेलाका केस फेला परेकाले अभियान सञ्चालन गरिएको बताए । “यो अभियानको अर्का लक्ष्य खोपको पहुँचमा ९५ प्रतिशत भन्दा बढी पु¥याउने र सन् २०२३ सम्ममा पुर्ण रुपमा यो रोग निवारण गर्ने हो” अधिकारीले भने ।  स्वास्थ्य कार्यालयले प्रस्तुत गरेका तथ्याङक अनुसार नेपालमा २१ प्रतिशत बालबालिकाहरु खोपको पहुँचबाट वञ्चित छन् भने १ प्रतिशतले खोप नै देखेकै छैनन् । तनहुँको सन्दर्भमा दादुरा खोप कभरेज ७० प्रतिशत रहेको छ । अन्तरक्रिया कार्यक्रममा अधिकारीले खोप सञ्चालनको औचित्य, सञ्चालन प्रक्रिया, सरोकारवालाहरुको भुमिका, राष्ट्रिय खोप कार्यक्रमहरु र तीनका उद्देश्य र उपलब्धी, नियमित खोप सेवा सञ्चालन तथा खोप केन्द्र निर्धारण नीति, बृह्त बहुवर्षीय खोप योजना र यसको उद्देश्य र नियमित खोप कार्यक्रमका चुनौती लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । सोही अवसरमा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले कोही पनि खोपको पहुँचबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button