नेपाली काङ्ग्रेस (स्वतन्त्र) जोशी समूहको सङ्कल्प

१.पृष्ठभूमिः
जहानिया राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले नेपाली काङ्ग्रेसको जन्म भएको हो । तत्कालीन कठिन परिस्थितिमा पनि आफ्नो उद्देश्यमा सफल नेपाली काङ्ग्रेसले २०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्त्व लिन पनि सफल भएको थियो । जुन सरकारको नेतृत्त्व जननायक विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको थियो । यस्तै २०४६ र २०६२÷०६३ का आन्दोलनहरू पनि काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भएका हुन् । विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूल आदर्श बनाएको नेपाली काङ्ग्रेस पछिल्लो समयमा आफ्नो आदर्शबाट विचलित बन्दै गएको छ । ०६२÷०६३ पछि त नेपाली काङ्ग्रेसले आफ्नो मूल सैद्धान्तिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादलार्ई आधिकारिक रूपमा अवलम्वन गर्न छोडिसकेको छ । सत्तास्वार्थका कारण सहमति, सहकार्य र एकताको नाममा पछिल्ला दिनहरूमा सत्ताकेन्द्रित गठबन्धन गर्दै आएको छ । काङ्ग्रेसले आफ्नो सिद्धान्त, आदर्श, पहिचान र मौलिकता समाप्त पारी मात्र सत्तालार्ई प्राथमिकता दिएको देखिन्छ । यति मात्र होइन सैद्धान्तिक आस्था र निष्ठाबाट विचलित हुन नसक्ने कार्यकर्ताहरूलार्ई पार्टीबाट बहिर्गमन गर्नका लागि बाध्य पार्दै गरेको यथार्थ पनि कसैका सामु छिपेको छैन । अवसरवादी र दास मानसिकताका स्वार्थ समूहका रूपमा नेपाली काङ्ग्रेसलार्ई रूपान्तरित गर्ने वर्तमान नेतृत्व विरुद्ध तनहूँ जिल्लाबाट अभियान थाल्न जरुरी भएको सन्दर्भमा यो समूहको सक्रियताको आवश्यकता ठानिएको हो ।
     हालै सम्पन्न स्थानीय  निकायको निर्वाचनका सम्बन्धमा विचार–विमर्श गर्दा देशभर स्वतन्त्र उम्मेद्वारहरूको प्रभाव बढ्दै गएको देखिन्छ । देशभरमा स्वतन्त्र उमेद्वारहरूले सफलता प्राप्त गरेका कारण यो अभियान केही हदसम्म सफल पनि भएको देखिन्छ । सोही क्रममा तनहूँ जिल्लामा पनि जोशी समूहको नामबाट निर्वाचनमा सहभागिता भयो भने त्यसको प्रभाव तनहूँ जिल्लाभर परेको कुरा यहाँ उल्लेख गरिरहनु नपर्ला । राज्यशक्तिको त्यति धेरै दुरुपयोग हुँदा हुँदै पनि हामी सफलताको नजिक पुगेको सर्वविदितै छ ।
विश्वका शक्ति राष्ट्रको रूपमा पहिचान बनाउँदै गरेका चीन र भारतको बीचमा रहेको नेपालको भूधरातलीय यथार्थलार्ई बुझेर नेपाली माटो सुहाउँदो राष्ट्रियता, प्रजातन्त्र र समाजवादलार्ई आफ्नो मूल आदर्श बनाएर नेपाली काङ्ग्रेसलाई जननायक विश्वेश्वरप्रसाद कोइरालाले सङ्गठित गर्नुभएको हो । विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको दर्शन र आदर्शलार्ई छोडेर सत्तास्वार्थबाट निर्देशित हुँदै सहमति, सहकार्य र एकताको नाममा नेपाली काङ्ग्रेसले आफ्नो पहिचान र मौलिकता गुमाएको छ र यस्तै रहिरहेमा यसको अस्तित्व नै नरहने निश्चित छ ।
स्वाभिमानी सैद्धान्तिक अडान भएका कार्यकर्तालार्ई गणतान्त्रिक संविधान जारी भएपछि दोस्रो पटक स्थानीय निर्वाचन सम्पन्न भएको छ । आफ्नो पार्टीसँग कुनै पनि आदर्श र सिद्धान्त नमिल्नेसँग गरिएको गठबन्धनको परिणाम जेसुकै भए पनि समग्रमा हेर्दा नेपाली काङ्ग्रेसको दीर्घकालीन भविश्यका लागि दूर्भाग्यपूर्ण नै हुने छ । नेपाली काङ्ग्रेसका सच्चा कार्यकर्ताका लागि यो सत्ता गठबन्धन अभिसाप सिद्ध हुने छ । यो गठबन्धनले नेपाली काङ्ग्रेसका कर्मठ कार्यकर्ताहरूलाई झनै ठूलोे झड्का र आत्मग्लानीको अनुभूति दिलाएको छ । यस पटकको स्थानीय निकायको निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट सैद्धान्तिक निष्ठा भएका स्वाभिमान नेपाली काङ्ग्रेसका कार्यकर्तालार्ई पार्टीको उमेद्वार बन्नबाट वञ्चित गरेका कारण देशभर स्वतन्त्र उम्मेद्वार बन्न पुगेका हुन् । जसको परिणाम पनि आइसकेको छ । सिद्धान्तहीन, सत्ता केन्द्रित स्वार्थी मानसिकताले युक्त नेतृत्त्वका कारण तनहूँ जिल्लामा पनि धेरै महत्वपूर्ण साथीहरू पार्टीको निर्णयबाट मर्माहत बन्नुभएको छ । जसको परिणाम स्वरूप धेरै नेपाली काङ्ग्रेसका साथीहरूले पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिई स्वतन्त्र भइ बस्नुभएको छ । पार्टीका निष्ठावान साथीहरूको मनोबल गिराउनका लागि अहिले पनि कारवाही गर्ने र राजीनामा दिने क्रम चलिरहेको छ ।
नेपाली काङ्ग्रेस पार्टीको नेतृत्त्वले सत्ता लिप्साका कारण गलत निर्णय गर्दै जाने र पार्टीलाई आफ्नो सैद्धान्तिक मूल प्रवाहबाट बाहिर पु¥याएको अवस्थामा बीपी कोइरालाको आदर्श वचन स्मरण हुन आउँछ । जननायक विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको थियो– नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् या त दास हुन् । उहाँको यो उक्तिलार्ई मनन गर्दै हामी अवसरवादी पनि होइनौं र दास पनि होइनौ । नेपाली काङ्ग्रेसका सच्चा कार्यकर्ताले बीपीको त्यो आदर्शलार्ई अवलम्बन गर्दै आएका छौं । नेपाली काङ्ग्रेसमा अपमानीत, उपेक्षित र बहिर्गमनमा पारिएका कार्यकर्ताहरूलार्ई सङ्गठित गरी बीपीवादलार्ई स्थापित गराउनका लागि यो अभियान सञ्चालन गर्न आवश्यक ठानिएको हो । बीपीले परिकल्पना गर्नुभएको सिद्धान्त र आदर्शबाट पार्टी गलत दिशातर्फ गइरहेको वर्तमान परिदृश्यलाई विचार गरी बीपीको सिद्धान्त र आदर्शमा अडिक साथीहरूलाई सङ्गठित गर्न आवश्यक ठानी नेपाली काङ्ग्रेस (स्वतन्त्र) तनहूँमा जोशी समूह निर्माण गरी यो सङ्कल्प प्रस्ताव तयार पारिएको हो ।
२.सङ्गठन सुदृढीकरण हाम्रो लक्ष्य र उद्देश्य
नेपालको भूधरातलीय यथार्थलाई केन्द्रमा राखेर नेपाली काङ्ग्रेसको बीपीवादलाई आत्मसात गर्ने सैद्धान्तिक आस्था र निष्ठा भएका व्यक्तिहरूलाई विचलित हुनबाट बचाइ सङ्गठित गरेर मूल प्रवाह निर्माण गर्ने यो अभियानको लक्ष हो । स्वाभिमानी, सैद्धान्तिक आस्था र निष्ठा भएका, कारवाहीबाट पार्टीको मूल प्रवाहबाट जवरजस्त बाहिर धकेलिएका स्वाभिमानीहरूलार्ई पाखा पार्ने प्रबृत्ति विरुद्ध विद्रोह गरेका कार्यकर्ताहरूलार्ई विचलित हुन नदिई भरोसा दिलाई सङ्गठित गर्नु यो अभियानको उद्देश्य हो । जुन उद्देश्यलाई मूर्त रूप दिनका लागि हामीले निम्नानुसारको कार्यक्रम बनाएका छौं ।
३.कार्यक्रम
तनहुँ जिल्लाभरका नेपाली काङ्ग्रेसका स्वाभिमानी सैद्धान्तिक आस्था र निष्ठा भएका, कारवाहीबाट पार्टीको मूल प्रवाहबाट जवरजस्त बाहिर पारिएका स्वाभिमानी निष्ठावान् कार्यकर्ताहरूको भावनालाई सङगठित गर्न हाललाई निम्न कार्र्यहरू सञ्चालन गर्ने निर्णय गरेका छौं ।
३.१ तनहूँको सदरमुकाम दमौलीमा हाल सञ्चालन हुँदै आएको सम्पर्क कार्यालय सङ्घीय निर्वाचनसम्म यथावत सञ्चालन गर्ने ।
३.२ यो सम्पर्क कार्यालय विहान ११ वजेदेखि दिनको ३ वजेसम्म खुल्ला राख्ने ।
३.३ कार्यालय सञ्चालन गर्न प्रत्येक दिन दुईजना नेतृत्व तहका व्यक्तिहरूको उपस्थितिको व्यवस्था मिलाउने ।
३.४ कार्यकर्ताहरूबीच सम्पर्क बढाउनका लागि आवश्यक परेमा परिआएका कामहरूको सहजीकरण गर्न हाल कार्यरत एक जना कार्यालय सहायक र सञ्चालन हुँदै आएको कार्यलाई निरन्तरता दिने ।
३.५ सङ्घीय निर्वाचनलाई दृष्टिगत गरी उपेक्षित, अपहेलित र बहिर्गमनमा पारिएका र विचलित नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको मनोबल बढाउन गाउँ टोलमा रहेका नेपाली काङ्ग्रेसका सच्चा कार्यकर्ताहरूको भावनालाई संस्थागत गर्न र ती कार्यकर्ताले अपनत्वबोध गर्न सकून् भन्ने उद्देश्यले यही २०७९ साल जेठ २८ गते दमौलीमा जिल्लास्तरीय भेला गर्ने ।
३.६  नेपाली काङ्ग्रेसमा भएकोमा कार्यकर्ताहरूले हिनता बोध गर्न नपर्ने वातावरण निर्माण गर्ने ।
३.७ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई भय र त्रासमा बाँच्न पर्ने अवस्थाको अन्त्य गर्ने ।
३.८ यो अभियानलाई सफलतामा पु¥याउन तनहूँ जिल्लाका ८५ ओटै वडामा वडा इन्चार्जहरूको व्यवस्था गर्ने ।
३.९ वडा इन्चार्जले आफनो अध्यक्षतामा ७ देखि ११ जना सम्मको महिला जनजाति र दलितहरू समावेस भएको वडा समिति गठन गर्ने ।
३.१० वडा समितिले  प्रत्येक टोलमा अध्यक्षसहित ७ देखि ११ जनासम्मको महिला जनजाति र दलितहरू
 समावेस भएको टोल समिति गठन गर्ने र सोको जानकारी जिल्लाको सम्पर्क कार्यालयमा पठाउने ।
३.११ जिल्लाबाट समय–समयमा वडा समितिहरू, टोल समितिहरूको वैठक राखी उक्त वैठकमा उपस्थित हुने व्यवस्था  मिलाउने ।
४. हाम्रो सङ्कल्प
हामी राष्ट्रियता, प्रजातन्त्र र समाजवादबाट कहिल्यै पनि विचलित हुँदैनौं । अवसरवादी र दास मानसिकताको गुटले आज  नेतृत्व कब्जा गरेको छ । त्यस्तो नेतृत्वले बीपी कोइरालाले प्रतिपादन गरेको सैद्धान्तिक आस्था र निष्ठालार्ई बचाउन सक्दैन । अवसरवादी र दास मानसिकताको कब्जाबाट हामी कार्यकर्ताहरूलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्दछौ । यही नै हाम्रो यो अभियानको लक्ष र सङ्कल्प पनि हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button