कविता “अस्तित्व” -पिपला ढुङगाना Pipala Dhungana

एउटा पुरै युग
घाइते र घाउ सँगको संसर्ग पछि पनि
उस्तै तन्दुरुस्त भइदिनु पर्ने
सामेल भइरहनु पर्ने
सामाजिक अग्नि परिक्षामा
र होमिइरहनु पर्ने
चरु बनेर
छोरी,
नातिनी,
दिदी, बहिनी,
पत्नी,
बुहारी,
यावत् हुँदै
बनुन्जेल
आमा

हजुरआमा

धानी रहनु पर्ने
मतलब बिनाकै चिडचिडाहट
पच्छ्याइरहनु पर्ने
बेतुकका परम्परा
निलिरहनु पर्ने
तम्तम्याइला भडाँस
निमोठिरहनु पर्ने प्रयोगशालामा
आफ्नै मुटुको घाँटी
र बनाएर अधिकार सम्पन्न
गराइरहनु पर्ने रजाइँ
आफ्नै कोख माथि,

थापिरहनु पर्ने तिर्खाको थप्पड
मारिरहनु पर्ने आफ्नै प्यास
स्वयं आफू समुन्द्र भएर
र बाँधिरहनु पर्ने
तन मनको गाँठो फरियाको सप्कोमा
निकालिरहनु पर्ने
हवस् को लवज
निलेर सुस्केरा
सहि रहनुपर्ने
थिचोमिचो
र नियालिरहनु पर्ने
आमा, बहिनी र सङ्गीका
राता चिहानहरु
सप्तकोशीको बाढी जस्तो मनको बहाव
धानीरहनु पर्ने मुस्कानले सङ्ल्याएर
र पनि दर्जाको तराजुमा
किन कहिल्यै तुर्लुङ्ग लच्किँदैन हँ त्यो पाटो ?
होइन सर्कसमा कहिलेसम्म चल्छ
तिम्रो मनमौजि मेरो अस्तित्व माथि ?
साँच्चै मैले बाँचेको समाजले
मलाई नागरिक मान्छ कि मान्दैन हँ ?

सम्पूर्णमा १११औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    Oh Moon!
Back to top button