बाढी पहिरोको वितण्डा, दुईको मृत्यु सात घाईते

दमौली खबर संवाददाता
दुई छोरा छोरीलाई पढाउन बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङकी सरस्वती थापा डुम्रे बजार झरिन । बुढा ससुरा, सासुआमा र देवर भएको परिवारबाट टाढीने उनको रहर होईन बाध्यता थियो । नेपाली सेनामा कार्यरत उनका श्रीमानले जसोतसो आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन बजार झरेका हुन् । परिवारबाट टाढा भएपनि आफनो गाँउघरको कर्म उनले बिर्सीएकी थिईनन् । असार होस वा मंसिर रोपाई गर्न सरस्वती गाँउ उक्लन्थिन् । यसपालि पनि पानीपर्न थालेपछि छोराछोरीलाई कोठामै राखेर रोपाई गर्न उनी असार १५ मा गाँउ गईन् ।

मंगलबार र बुधबार रोपाई गरेकी उनले बिहिबार रोपाई सकेर बेलुका डुम्रे फर्किने सोचमा थिईन् । तर बुधबार राती देखि परेको अविरल वर्षाले घर माथिबाट आएको पहिरोले घर पुरिदाँ उनको ज्यान गयो । बिहान अन्दाजी साढे तीन बजे आएको पहिरोमा परि घरका सबै सदस्यल पहिरोमा पुरिए । झण्डै एक घण्टा पछि स्थानीय गाँउलेले उद्धार गर्ने क्रममा सरस्वती मृत भेटिईन् भने परिवारका अन्य सदस्य घाईते थिए । घाईतेलाई उपचारको लागि दमौली स्थित जिल्ला अस्पतालमा ल्याईयो ।

पहिरोमा परी सरस्वती थापाका ६६ वर्षीय ससुरा दिलबहादुर थापा मगर, ५८ वर्षीया सासु आमा दाउरीमाया थापा मगर र २६ वर्षीय देवर सुवास थापा मगर घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको छ । थापाका देवर सुवासले भने,‘पोहर गोठमा पहिरो गएको थियो । यसपालि पहिरोले घरै भत्काउदाँ आफान्त गुमाउनु पर्यो ।’ पहिरोले सोही ठाँउको अर्को घर भत्किदाँ ७० वर्षीया हरिमाया बसेलको पनि ज्यान गयो । एउटै गाँउका दुई जनाको मुत्यु भएपछि गाँउनै शोकमा छ ।

बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन् भने ८ घर विस्थापित भएको गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार ‘१ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन् भने १८ भन्दा बढी घर विस्थापित भएका छन । त्यस्तै जिल्लाकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ । शुक्लागण्डकी नगरपालिका वडा नं ९ स्थित सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय नाति विज्ञान भुजेलको जिवितै उद्धार गरि पोखरा स्थित गण्डकी मेडीकल कलेजमा उपचार गरिएको । पहिरोले भुजेलका ९ बाख्रा र एक भैसी मरेको छ । सोही वडाका टेक बहादुर महतको गोठ माथिबाट आएको पहिरोले १० बाख्रा र एक भैसी मरेको छ । वडाअध्यक्ष रेग्मीका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।

म्याग्दे गाँउपालिका वडा नं ५ मा पनि पहिरोमा परि बाबु छोरा घाईते भएका छन् । पाँच कोठाको ब्लकले बनेको घरमा माथिबाट खसेको पहिरोले लागि ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन परियार घाईते भएका हुन् । दुबै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button