लेखनाथ स्मृति

शिखरिणी
हरिप्रसाद रिमाल

सिकायौ सारामा नवरस सबै छन्द लयमा
बिझाएनौ प्यारा वचन जहिले काव्य-रसमा
दियौ हामीलाई तरुण तपसी काव्य महल
अनेकौँ छन् काव्यात्मक ऋतु बिचारेर सबल।१

सबै प्राणीलाई मनवचनले कर्म बलले
गरौँ माया धेरै हृदय नबनोस् क्रूर कहिले
भनी लेख्यो साँचो कवि कलमका जाँगर झिकी
बन्यो धेरै राम्रो असल कविता यो शिखरिणी।।२

शिकारीको सास्ती चिरबिर गरेको छ बचरो
दुखी बन्दै रोयो तर मनुज मानेन टुहुरो
बनाएको पढ्दा मन-मगज तातिन्छ अहिले
दाया-माया त्यागी मनुज दिल त्यस्तै छ जहिले।।३

सुँगाले बोलेको मन-मटु छुने जीवन कथा
अनेकौँ छन् त्यस्तै हृदयदहका दु:खित व्यथा
सबै सम्झी लेखे अझ मुटु छुने हुन्छ असली
भनेँ थोरै सम्झेँ कविहृदयका भावलहरी।।४

भने साँच्चै रुन्छौँँ कविकलमको काल महिमा
हिमाली शोभाको कुसुमकलिकाको मधुरिमा
अझै डाँफे मैना सललल बगी शीत सरिता
सजाएको धर्ती गहनतम छन् छन्द कविता।।५

कहाँ तिम्रा राम्रा मधुर कविता छन्द लयमा
कहाँ हाम्रा पोथ्रा मधुरसविनाका कथनमा
चढायौँ श्रद्धाका कुसुमकलिका काञ्चनमणि
अझै आशावादी कविवर सिकाऊ शिखरिणी।।६

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button