यी हुन् जनताको दु:खका कारण
राजनीति र नैतिकता अविभाज्य छन् । नैतिकता व्यक्ति र समाजलाई खराब कार्यबाट बचाउनका लागि आवश्यक छ ।
हाम्रो समाजमा चाहे नागरिक हुन् या राजनीतिज्ञहरू यी सबैले साझा हितभन्दा व्यक्तिगत रुचिलाई प्राथमिकता दिएको देखिन्छ ।
नैतिकता बिस्तारै सार्वजनिक क्षेत्रबाट टाढा जाँदै छ। इमान्दारी, पारस्परिक व्यवहार, निष्पक्षता, जिम्मेवारी, निष्ठा र दक्षताजस्ता सामाजिक सद्गुणहरू शासकको नैतिक मूल्य मात्र नभई नैतिक योग्यता पनि हो ।
नैतिकता र धार्मिक मूल्यहरूको सम्बन्ध अतुलनीय छ। नैतिक मूल्य र मान्यतालाई नेपालका राजनैतिक पार्टीहरूले आफ्नो फाइदाका लागि विनास गर्दै गए ।
हिन्दु राज्यबाट धर्मनिरपेक्ष बनाउनु यसको ज्वलन्त उदाहरण हो । धार्मिक मूल्य मान्यताहरूको शिक्षा स्कूल, कलेजबाट हटाइनुका साथै धार्मिक मूल्य मान्यताहरूको वातावरण विनास गरिएको छ। त्यसैले नैतिकता पनि बिस्तारै घट्दै गयो। अहिले आएर नेपालीका किशोर र युवाहरू जुन समाजको ठूलो वर्ग हुन् उनीहरू अनैतिक र भ्रष्ट वातावरणमा हुर्कँदैछन् ।
विगत ३१ वर्षमा हाम्रो देशमा पूर्वाधार परिवर्तन र अरू केही राम्रा कुरा नभएका होइनन्, तर राजनीतिमा नीति र नैतिकता बिस्तारै फितलो हुँदै गयो । नैतिकताविनाको समाज र विकासले लामो दौरानमा समाजलाई एक दिन नराम्रोसँग खाडलमा हाल्नेछ ।
हुन त अरिस्टोटलले आफ्नो समाजमा नै खुशी हुनु र अरूलाई खुशी पार्ने प्रयास गर्नु नै नैतिक जिम्मेवारी हो, भनेका थिए । तर हाम्रो समाजले प्राथमिक मूल्यहरू दिनप्रतिदिन बिर्सिएको भान हुन्छ ।
नागरिकहरू आफ्नो गुट वा पार्टीको मात्रै फाइदा हुने गरेर माग अघि सार्छन् भने त्यो मागलाई शासकहरूले आफ्नो फाइदाका लागि मात्रै पूरा गर्नका लागि पहल गर्छन् ।
समाज विकास र कल्याणका लागि आर्थिक र सामाजिक नीति नैतिकताका आधारमा निर्माण हुनुपर्छ ।
Machiavelli भन्छन्- मानिसहरू स्वभावले कपटी हुन्छन् । त्यसैले शासकहरू आफ्नो शक्तिलाई कायम राख्न कुनै पनि अनैतिक भ्रमकारी उपायहरूको प्रयोग गर्दछन् ।
३१ वर्षको प्रजातान्त्रिक अभ्यासमा नेपाली जनताले केवल छलकपट मात्र भोगेका छन् । पद र पैसाका लागि नेपाल यति धरै राजनैतिक प्रयोग भयो जुन अरू मुलुकमा बिरलै हुने गर्छ हाम्रो समाजमा आज भ्रष्टाचार राजनीतिको एउटा महत्त्वपूर्ण औजार भएको छ।
कुनै समय राजनीति भनेको प्रतिज्ञा थियो, आज यो धन कमाउने सजिलो साधन भएको छ। नैतिकताविनाको राजनीति र राजनीतिज्ञहरू नै स्वतन्त्र राष्ट्रका लागि अत्यन्त दुर्भाग्य हुन्छन् ।
चुनावी राजनीतिबाट आएका सरकारहरू न त सर्वशक्तिमान् हुन् न त सर्वज्ञ नै। चुनाव केवल एउटा महत्त्वाकाङ्क्षी विषय हो। चुनावी राजनीतिले दैनिक जीवनमा आश्चर्यजनक परिवर्तन भने ल्याउँदैन रहेछ भनेर बिस्तारै प्रमाणित हुँदै गएको छ। चुनावी राजनीतिबाट आएको सरकारले नेपालमा धेरैजसो क्षुद्र महत्त्वाकाङ्क्षाहरूबीचको अन्तहीन झगडा, शक्ति र पैसाको बीचमा समतुल्य सम्बन्ध, न्यायमाथि ढोङ गर्ने कानून, विशेषाधिकारलाई सुदृढ पार्ने नीतिलाई नै बढावा दिँदै आएको छ। भित्तामा पोतिएका उम्मेदवारहरूको नाम, फोटो र उनीहरूले गरेका प्रतिज्ञाले किनिएको भोटले आजसम्म पनि आमजनतालाई चोटभन्दा अरू केही दिएको छैन ।
शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य सेवा र स्वास्थ्य प्रणालीको विकास गर्ने, आधारभूत आवश्यकता र सेवाहरू जनतासामु पुर्याउने, शान्ति सुरक्षा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरीबी उन्मुलन गर्नेजस्ता चुनवअगाडि गरिएका प्रतिज्ञाहरू कहिल्यै पूरा हुँदैनन् । यिनै एजेन्डामा फोहोरी खेल खेल्दै सरकार चलि नै रहन्छ । राजनीति गर्नका लागि झुटो कला कहिल्यै परिवर्तन हुँदैन, तर यसकाविरुद्ध हाम्रो सहिष्णुता बिस्तारै परिवर्तन हुँदै गएको छ ।
हुन त प्रजातन्त्रलाई अहिलेसम्म सबैभन्दा राम्रो व्यवस्था मानिन्छ तर वास्तविक प्रजातन्त्र जहिले पनि असफल भएको छ । यो मानव प्रकृतिकै विरुद्ध छ। एक मानिसले अर्को मान्छे वा एक वर्गले अर्को वर्गमाथि शासन गर्ने कुरा मानव प्रकृतिविरोधी हो। जहाँ एकले अर्कालाई नियन्त्रण गर्छ त्यहाँ सधैँ उत्पीडन हुन्छ ।
For the complete article click here. https://lokaantar.com/story/135833/2021/3/2/deepak-raj-joshi