नेपालमा बस्छु म

कविता

नेपालमा बस्छु म

(शार्दूलविक्रीडित छन्द )

-नवराज न्यौपाने ‘मौन’

हाम्रो देश छ यो धनी प्रकृतिको हज्जार छन् सम्पदा
रम्दै आज यहाँ प्रसन्न दिलले हाँसी बसें मै सदा
मात्रै दु:ख भयो विदेश नभनी विश्वास अर्पन्छु म
जान्न भो अब ता कुनै मुलुकमा नेपालमा बस्छु म

पूर्खाको इतिहासले जगतमा मिल्दै गयो शान यो
छाडी देश कठै अवनिमा मिल्दैन सम्मान त्यो
आफ्नो कर्म गरी यही मुलुक नै संसार सम्झन्छु म
आफ्नै पौरखले भिजाइ धरती नेपालमा बस्छु म

खर्ची श्रोत र साधनै मुलुक यो चम्काउने लक्ष्य छ
पीडामा पनि रम्छु लौ सहन यो आकाश झैं वक्ष छ
बाँझो राख्न हुँदैन है सतह यो फाली हलो धस्छु म
उब्जाईकन अन्न टन्न सुबिधा नेपालमा बस्छु म

नेताले जसरी बके कथन त्यो उस्तै भए काममा
बन्थ्यो देश नि स्वर्गतुल्य रसिलो संसार उल्लासमा
सेवा भाव रहे सबै जनविषे सद्भावना साँच्छु म
प्यारो यो जननी हँसाइ सहजै नेपालमा बस्छु म

राम्रो शीप कला पलायन भए नेता भए भ्रष्ट नै
भ्रष्टाचार भयो अहो मुलुकमा देखिन्छ यो प्रष्ट नै
आऊ है सब फर्क यो भुवनमा ऐश्वर्य कल्पन्छु म
जे जस्तो दुनियाँ भए पनि अहो नेपालमा बस्छु म

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button