गोरु ब्याउँछ
कविता
गोरु ब्याउँछ
लालगोपाल सुवेदी
एकादेशमा हेर बाबु
पुच्छरले हात्ती हल्लाउँछ
छिमेकबाट आउँछ जादू बाबा
चल्छ चटकीहरूको चटक
स्वर्गको सपना देखाउँछ
यति धेरै पंखफुक्का छन् कि जीवात्माहरू
लाटोकोशेरोले पनि सपनामा
राजकुमारीसंग बिहे गर्न पाउँछ
कुनै कमी छैन छट्टूहरूको
एउटा छट्टू महामानवताको किस्सा बुन्छ
जति अग्ला पहाड- हिमालहरू
त्यति नै गहिरा पहिराहरू
जति संला नदी र तालहरू
त्यति नै विशाद धाँजा र भंगालाहरू
त्यो त्यही देश हो मेरो
जहाँ खस्न खस्न लागेको आकाशलाई
हुटिट्याउँले अड्याउँछ
साथी अब के हुन्छ ?
एकातिर
आमाको लाशलाई गिद्धले ठुँग्छ
अर्कोतिर
छाला र करंगको नक्सा देखाउँदै शिशु रून्छ
सहर जलिरहँदा निरोले बाँसुरी बजाउनु
जाडोमा आफ्नै घर बालेर
आगो ताप्नु ,गँजडी गुन्गुनाउनु
यो कस्तो सादृश्यविधान हो त्यता ?
त्यो कस्तो देश हो मेरो ?
जहाँ बोकाले दाइँ गर्न भ्याउँछ
ओथारो बस्छ भाले
गोरू ब्याउँछ !
·