लागूऔषध नियन्त्रणमा चुनौति

 

प्रहरीले लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहँदा पनि यसको बेचबिखन, ओसारपसार र प्रयोगकर्ताहरुको सङ्ख्या नघट्नु चुनौति नै हो । पछिल्लो समय प्रहरीले राजमार्गमा ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरे पनि कारोवारीहरु निरुत्साहित नहुनुले नियन्त्रणको अभियान चुनौतिपूर्ण देखिनु स्वभाविक हो । प्रहरीको कार्वाहीको समाचार दिनहुँ प्रकाशित भइरहँदा पनि लागूऔषध प्रयोगकर्ता र कारोबारीहरुले कारोबार गर्ने बाटो र तरिका बदल्दै प्रयोग र व्यापार गरिरहेको पछिल्लो घटनाले देखाएको छ । गत मंगलबार प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ ग¥यो । युवकलाई खोजतलासि गर्दा युवकको साथ बाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख विनोद शिलवालले जानकारी दिए ।

प्रहरीले विद्यार्थीलाई लक्षित गरी विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको समय शिक्षक नै कारोबारमा संलग्न हुनुले सचेतना बेरोजगार युवाहरुको लागि समेत दिनुपर्ने हो कि– जस्तो भएको छ । प्रहरीले लागूऔषधको नियन्त्रण चुनौतिपूर्ण रहेको बताइरहेका बेला देशका भविष्य भनिने युवापुस्ताहरु कुलतमा फस्ने र अपराध मनोवृत्ति बढेर जाने खतरा त्यत्तिकै बढ्न थालेको छ । साथीभाइको लहैलहै र देखासिकीमा यस्तो कुलतमा फस्ने युवाहरु कुनै न कुनै अपराधमा पक्राउ पर्ने गरेका छन् । कारोबारीहरुले सिधासादा, बालबालिकाहरुलाई समेत यस्तो कारोबारमा संलग्न गराउन थालेपछि देशको परिचय नै कारोबारको केन्द्र अर्थात् लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । अपराध कर्म गर्नेहरु प्रहरीभन्दा एक कदम अघि हुने गरेको विभिन्न तथ्यहरुले पुष्टि गरिसकेको सन्दर्भमा अभिभावकहरुले आफ्ना सन्तानलाई विशेष निगरानीमा राख्न ढिला गर्नुहुँदैन । देश युवाहरुको जिम्मामा हुन्छ ।

उनीहरुलाई असल नागरिक बनाउन सकिए मात्र भौतिक विकासमा फड्को मार्न सकिन्छ । त्यसकारण पनि युवावर्गलाई नकारात्मकता, विकृति, विसङ्गति र सामाजिक अपराधहरुबाट अलग राख्न सामाजिक संघ–संस्था, गैरसरकारी तथा स्वयम्सेवी संस्था र अगुवाहरुले अग्रसरता देखाउनु पर्दछ । यसका विरुद्ध निर्माण गरिएका कानूनको कार्यान्वयनको प्रभावकारितामा जोड दिनुपर्दछ । लागूऔषधको कारोबारलाई निस्तेज तुल्याउन सचेत वर्गले प्रहरीसँग सहकार्य गर्नुपर्दछ । यही समय संसदमा लागूऔषध भनिने ‘गाँजा’ को खेतीलाई वैधानिकता दिन प्रस्ताव दर्ता भएको छ । त्यस्ता वस्तुहरुमा रहेको औषधिय गुणको पहिचान, प्रयोग , उत्पादन र बिक्रीवितरण राष्ट्रको अहितमा नहुने गरी उपयोग गर्ने नीति बनाउँदा समेत प्रहरीको टाउको दुखाइ कम हुन सक्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button