नारीले हारे समाज हार्छ

उमा शर्मा, अमेरिका
स्तन चिरेर शिशुको प्यास मेट्न सक्ने नारी
आफैं भित्र सृष्टि फुलाउन सक्ने नारी
हारेको युद्ध जित्न सक्ने नारी
जितेको युद्ध हारिदिन सक्ने नारी
आफ्नो महिमा नचिनेर
आफ्नै गरिमा नबुझेर
जब जब हामी पुरुषको बराबरीमा पुग्न खोज्छौं
जब जब हामी समान हकको लागी रोइरहन्छौं
तब तब हामी हारिरहन्छौँ ।
लड्नुपर्ने सैयौँ युद्ध थाती राखेर
जब लड्नै नपर्ने युद्धमा होमिन्छौं
नम्बरी सुन नचिनेर
जब कसी लाउन हिड्छौं
कोहिनुर नचिनेर
जब काँचसङ्ग दाँज्न खोज्छौं
आफैंभित्रको सागर नभेटेर
जब खहरेको ईर्ष्या गर्छौं
तब साँच्चै हामी हार्छौ ।
नारीका मुद्दामा
कहिले नारी हामी आफैं हार्छौ
कहिले समाजले हामीलाई हराउँछ ।
छोरीलाई मर्यादा सिकाइरहने समाजले
छोरालाई अनुशासन सिकाउनु पर्थ्यो
जब त्यस्तो हुँदैन
तब हाँमी हार्छौ
हाँमी सङ्गै सिङ्गो समाज हार्छ ।
छोरीलाई सिन्दुर र टीका लगाइदिने समाजले
छोरीलाई चुरा र पाउजुले बाँधिदिने समाजले
छोराको घाँटीमा घण्टी बाँधिदिनु पर्थ्यो
तर त्यस्तो हुँदैन
त्यसैले हामी हार्छौं
हामी सङ्गै सिङ्गो समाज हार्छ ।
हाँस्ने नारीलाई वेश्या भन्ने समाजले
नारीलाई वेश्या बनाउने पुरुषलाई पनि उपनाम दिनुपर्थ्यो
नाँच्ने नारीलाई नर्तकी भन्ने समाजले
नर्तकीको नाँचमा झुम्ने पुरुषलाई औँलो ठड्याउनुपर्थ्यो
जब त्यस्तो हुँदैन
तब हामी हार्छौ
हामी सङ्गै सिङ्गो समाज हार्छ ।
नौ गजको धोती र पाँच हातको पटुकीले
नारीलाई बेरिदिने समाजले
कहिले घुम्टो त कहिले बुर्काभित्र
नारीको इज्जत लुकाइदिने समाजले
लुकेको इज्जत चोर्नुहुन्न भनेर पुरुषलाई सिकाउनु पर्थ्यो
जब त्यस्तो हुँदैन
तब हामी हार्छौँ
हामी सङ्गै सिङ्गो समाज हार्छ ।
साँच्चै भनौं
जब जब हामी नारीले आफुलाई बुझ्दैनौं
जब जब समाजले हामी नारीलाई चिन्दैन
तब तब हामी हार्छौं
जब जब हामी हार्छौं
हामी सङ्गै सिङ्गो समाज हार्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button