यो देशको दुर्गति
यो देशको दुर्गति
रामचन्द्र घिमिरे
आमा!लेख्दछु कष्ट भो मुटुविषे सङ्घर्ष सारै क्षति
नेता लायक देखिएन चुनियो बेकार लाग्यो अति।
बन्ला आश थियो बनेन घर नै विध्वंश भोग्नू कति
मात्रै दम्भ हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।।
देख्दा दुःख विरक्त भो मुलुक यो काटेर खाए जुटी
टुक्रा सात गरी सहस्र अगुवा मारेर खाए लुटी।
आफ्नै देश टुटाउने नियतिको तस्वीर कोर्छौ कति
मात्रै छिद्र हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।।
चल्दैनन् कर चल्दछन् मुखहरू दुर्वाच्य छन् डङ्गुर
छ्याप्छन् नायकले हिलो लदबदे ठान्छन् कुनै अङ्गुर।
सत्ता मात्र मिले भयो अगतिलो नेताहरूको मति
मात्रै स्वार्थ हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।।
अर्काको घर भाँड्न उद्यत हुँदै चास्नी चटाई सधैँ
सिल्ली बस्छ छिमेकमा घर हुने दुर्भाव बोकी सधैँ
हानाथाप गरेर नायकहरू भिड्छौ लियौ के मति
मात्रै हानि हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।।
गर्छन् वादविवाद यो मुलुकमा च्वाँचे र कुत्ता अति
घुर्छन् स्यालहरू बसेर डिलमा मर्लान् भनी सम्प्रति
नेताको स्थिति जे यहाँ छ अहिले चल्दैछ खेला जति
मात्रै तुच्छ हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।।