घरमै खुम्चाएको तीज, ‘यो पाली यस्तै भो’
सविन लामिछाने,
भदौ ०५ दमौली, शुक्रबारको मध्यान्न दिउँसो ,व्यास १२ कमलबारीकी शर्मिला न्यौपाने कैनि तयार हुँदै थिइन्। सारी लगाएर, चिटिक्क पर्नलाई उनलाई छोरीले सहयोग गर्दै थिइन्। ४५ वर्षिय कैनिलाई तीज आइसकेको थियो। टेलिफोनमा बोल्दै गर्दा उनको पछाडि तीजका गीत घन्किरहेको थियो। उनले आफ्नो योजना सुनाइन्, ‘अब तयार हौँ, हेरौँ न के गरिन्छ।’ किनकी उनलाई यो वर्ष कहीँ जानु छैन।
उनले विवाह गर्नु पहिला देखिनै तीजको व्रत बस्न सुरु गरेकी थिइन्। यो क्रम चलेको २९ वर्ष पुग्यो।
चितवनमा रहेको उनको माईत ब्रत बस्न सुरु गरेदेखि नजिक रहेको शिव मन्दिरमा हरेक वर्ष उनी मन्दिर जान्थिन्, तर यो वर्ष छुट्यो। ‘म जसरी पनि माईत नजिक रहेको मन्दिर पुग्थे, तर यो वर्ष यसरी बस्नुपर्यो, आफ्नो ज्यानको सुरक्षा गर्नै प¥यो।’ कैनि भन्छिन्, ‘यो पाली त भगवानसँग पनि डराउने नि आए। त्यसैले भित्र भित्रै बस्नुप¥या छ।’ उनको अनुभवमा नेपाल बन्द हुँदा पनि चाडकै लागि पनि मन्दिर खोल्थ्यो, तर अहिलेको थाहा नभएको रोगले यस्तो दिन आयो। हिन्दु धर्मावलम्बी महिलाको महान चाड हरितालिका तीजमा महादेवको पूजा आराधना गरिन्छ।
तीजमा शिवालयहरुमा भिड हुने गर्दछ। आज धेरै समयमा माइती आइपुगेका चेलिबेटी माइतीमा जम्मा भई आफ्नो पीर व्यथा पोख्ने गर्छन्।तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा पहिलाको जस्तो सहज वातावरण छैन। पहिलो चरणमा लकडाउन गरेको सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरेको छ। सरकारले अति आवश्यक काम बाहेक अरु बेलामा बाहिर ननिस्कन आग्रह गरेको छ र नियम नमान्नेलाई कारवाही समेत गरेको छ। कैनि भन्छिन्, ‘मन्दिर जान पाइएन भनेर सरकारलाई के दोष दिनु। किनकी सरकारले हाम्रै लागि गरेको हो। अहिले एकअर्कासँग डराउनुपर्ने बेला आएको छ।
मैले दिदि बहिनीलाई पनि लकडाउन भएदेखि नै भेटेको छैन। सरकारले पनि चाड पर्व सावधानी पूर्वक मनाउन अपिल गरेको छ । दिउँसोमा समेत भिडभाड नगर्न, सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न निषेध गरेको छ । कोभिड–१९ को प्रभाव चाडपर्वमा पर्न थालेको छ । टाढा घर भएका दिदी बहिनी माइतीमा आउन पाएनन् । निषेधाज्ञाले गर्दा गाडी चलेनन् । छोरीचेलीहरु माइतीमा आउन सकेनन् । ‘यसपालि यस्तै भयो । अर्को पाली कोरोना गयो भने एकै ठाउँमा भेट होला भनेर चित्त बुझाएका छौं’ व्यास ४ की नारायणी अधिकारीले भनिन्,–‘रहर लागेर के गर्नु । कोरोनाबाट पहिला ज्यान बचाउनु प¥यो ।
रमाइलो गर्ने दिन त धेरै छ ।’ म्याग्दे गाँउपालिका वडा नं १ की रेनूका खनाल ४५ वर्ष पुग्न लागिन्। २० वर्षको उमेरमा उनको विवाह भएको थियो। घरभरी ३ जना नन्द अनि माइतमा ६ दिदी बहिनी थिए, उनकी आफ्नै ३ जना छोरी छिन्। हरेक वर्ष तीजमा माइती जान उनलाई व्यवहारले मिलेन कहिले काहि मात्र उनि जाने गर्छिन् । धेरै जसो जेठानी, छोरी नन्द अमाजु जो भएपनि उनीसँग तीज मनाउन साथ हुन्थे। ब्रत बस्दा टाढा जान नसकेपनि घर पारीको मन्दिर पुग्थिन् तर यो वर्ष उनी चित्त बुझाएर मै बस्न परेको छ। यो वर्ष उनको घरमा कोही आएनन्, उनी कतै जान पाइनन्। तल्लो घर, माथ्लो घरका साथीहरुसँग कौँशीमा बसेर कुरा गरिरहेकी छन्। उनी भन्छिन्, ‘यो वर्ष यस्तै भो, अर्को पाली राम्रो होला।’