बोली एउटा व्यवहार अर्कै ?!
पौडेल यस्ता पात्र हुन् जसले पदको लागि आफ्नो मर्यादा भुलेका छन् । पहिला सभामुख, त्यसपछि उपप्रधानमन्त्री अनि त्यो भन्दा पनि तल झरेर मन्त्री बन्ने सामर्थ्य भएका ब्यक्ति हुन् । किनकि, जहाँ स्वार्थ मिल्छ त्यहीँ अटाउने ब्यक्ति हुन् ।
दीपकराज जोशी
राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्यहोर्ने भनी राष्ट्रपति सचिवालयले वक्तव्य दिइ नाटक मञ्चन गरेको ३ हप्ता नपुग्दै फेरि उपचारमा लागेको ५५ लाख निकासाका लागि परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई पत्र पठाएछ ।
यति मात्र कहाँ हो र ! चौतर्फी विरोध भएपछि राष्ट्रपतिका प्रेससंयोजकले अहिले उपचारको रकम सरकारले तिर्ने र, पछि राष्ट्रपतिको तर्फबाट सोध भर्ना गरिन्छ भनेर भन्न पनि पछि परेनन् । यसैबाट स्पट हुन्छं कि नेपाली जनतालाई कसरी बेबकुफ बनाइरहेका छन् भनेर । हुन त नेपालमा ‘नव राजा’हरू (नव सामन्तीहरू)बाट योभन्दा गतिलो के नै आशा गर्न सकिन्छ र ? त्यसमाथि पनि रामचन्द्र पौडेलबाट त आशा गर्ने कुरै भएन ।
मैले लिएको रामचन्द्र पौडेल भन्ने नामले कुनै संस्थाको रूप ग्रहण नगरोस् । राष्ट्रपति नामको संस्थासँग म खुसी छु या छैन भन्ने पाटो बेग्लै हो । किनकि जनताले मानेको संस्थाविरुद्ध आवाज उठाउने अधिकार जनतालाई नै हुन्छ । अतः मैले लिएको रामचन्द्र पौडेल भन्ने नामले संस्था वा ब्यक्ति नभएर चरित्रको अर्थ लिओस् । किनभने रामचन्द्र पौडेल व्यक्ति होइन, एउटा सिङ्गो चरित्रको नाम हो । राजनीतिमा सर्वाधिक लालच राख्ने र आफूलाई निम्छरो देखाउने प्रवृत्तिको ज्वलन्त उदाहरण लिनुपर्ने भयो भने सबैभन्दा अगाडि पौडेलकै नाम आउँछ । यो सबै हुँदाहुँदै पनि उनका केही थान भक्त छन्, जसलाई कतिसम्म भने उनले पद र शक्तिका नाममा अलकत्रा खान मात्र बाँकी छ ।
राजनीतिमा लाग्दाका दिन सम्झने हो भने उनको जीवनस्तरसँग जो-कोही जानकार छ । सांसद हुँदाका ती दिनमा चप्पल, गन्जी, सर्ट, पाइन्ट, स्वेटर, जुत्ता, कोट, दौरा-सुरवाल किनिदिने मानिसहरू उनको गृहजिल्लामा अहिले पनि ज्युँदै छन् । निष्ठाको राजनीति गर्ने पौडेलको अर्बौंको सम्पति कसरी आयो ? नेपाली जनताले सोध्नु र बुझ्नु जरूरी छ ।
मुलुकलाई धर्मनिरपेक्ष बनाउनका लागि पौडेलले १७ करोड लिएको खुलासा ‘बाइबल र माओवाद’ नामक पुस्तकमा लेखक अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाले आफ्नो पुस्तकमार्फत गरेका छन् । विभिन्न स्रोतका अनुसार अख्तियारले पौडेलको सम्पतिको गोप्य रूपमा छानविन थाले पनि बीचमै रोकेको बुझिएको छ । पौडेलको सम्पति छानबिन गर्दा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेताहरूको समेत अकुत सम्पतिको भेद खोल्नुपर्ने हुन्छ भनेपछि एकाएक रोकिएको थियो भन्ने कुरा पनि एकाथरि मान्छेले गर्छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो पङ्क्तिकारमाथि सुनियोजित ढङ्गले हमला भएको कुरा यहाँहरू सबैमा प्रष्टै छ । ‘लठ्ठी होइन गोली नै हान्नुपर्ने हो दीपकराज जोशीलाई, पुलिसलाई गोली हान्ने अधिकार दिइएको छ’ भन्ने जस्ता निच र घिनलाग्दो तर्क दिने जो-कोहीलाई पनि मैले राष्ट्रपति नमान्न पाउँछु ।
हेक्का रहोस्, म कुनै पार्टीविरोधि होइन, तर रामचन्द्र पौडेल जस्ता तथाकथित नेताको विरोधी हुँ र सदैव रहनेछु । आस्था र विश्वास जेमा भए पनि राजनीतिमा खराब चरित्रको विरोध गर्ने व्यवस्था गणतन्त्रमा छ ।
मलाई अचम्म के लाग्छ भने एउटा अन्तरवार्तामा केशव स्थापितले रामचन्द्र पौडेलले १६ करोड घुस मागेपछि काठमाडौंको फोहरमैला व्यवस्थापन हुन सकेन भनेर भनेका छन् । उनले त्यसो भनेको अडियो भीडिओ अहिले पनि सामाजिक सन्जालमा उपलब्ध छ । यसबारे पौडेलले कुनै विज्ञप्तिसम्म पनि निकालेनन् । कतिसम्म लज्जास्पद कुरा हो !?
उनको गृहजिल्लामा गएर सोध्नुभयो भने बुज्रुकहरूको मुखबाट आज पनि यो सुन्न पाइन्छ कि पौडेलले ९ वर्षको उमेरमा आफ्नो घर आगो लगाएका थिए । उनी पहिलेदेखि नै समस्याको ‘समाधान’ होइन ‘समस्या’ भएर प्रस्तुत हुन्थे । अलिक वितन्ड स्वभावका भएकाले उनको झुकाव कम्निस्टतिर भयो ।
वरिष्ठ पत्रकार हरि थापा लेख्छन्- ‘युवा कम्युनिष्ट जमातको दरबारसँग हिमचिमले काङ्ग्रेसको रगत उमालेको थियो ।’
काङ्ग्रेस नेताहरू जेलमा पर्दै गर्दाको त्यो बखत अर्थात् वि.सं. २०१७ फागुन १५ गते रेवतीरमण खनाल जनसम्पर्क अधिकृत भएका हुन् । कुनैबेला काङ्ग्रेस नेता रामचन्द्र पौडेल पनि उनै खनालका ‘राजनीतिक अनुयायी’ थिए । अर्थात्, पौडेल पनि कम्युनिष्ट थिए ।
रामचन्द्र पौडेल राष्ट्रपति बन्नेबित्तिकै नागरिक विधेयकलाई लालमोहर लगाइदिए । यसको सम्भावित जोखिमबारे हेक्का कसले राख्ने ? खोइ जवाफदेहिता ?
पञ्चायत आगमनपूर्व कम्युनिष्टसमर्थक छात्र संघ भेलामा पौडेल पनि सामेल थिए । त्यो पनि नारायणहिटी दरबारनजिक माधव शमशेर राणाको विशाल भवनमा । त्यो भव्य भवनको तबेलामा कम्युनिस्ट सम्मेलन भएको थियो । रामचन्द्र पौडेल वि.संं. २०१८ मा भरतपुरमा पक्राउ परेपछि उनी जेलभित्रैबाट काङ्ग्रेस बन्न पुगेका हुन् । अरु थप सन्दर्भ रेवतीमरण खनालको किताबमा आउँदैछ । पछि उनी आफूभन्दा ठुलो काङ्ग्रेस कोही छैन भन्दै हिँड्न थाले ।
रामचन्द्र पौडेल प्रजातान्त्रिक मुल्य र मान्यतालाई तिलाञ्जली दिएर भोट हाल्न नजाने, चुनाव बहिष्कार गर्ने तर मनोनित सदस्य खाने व्यक्ति हुन् । पौडेल यस्ता पात्र हुन् जसले पदको लागि आफ्नो मर्यादा भुलेका छन् । पहिला सभामुख, त्यसपछि उपप्रधानमन्त्री अनि त्यो भन्दा पनि तल झरेर मन्त्री बन्ने सामर्थ्य भएका ब्यक्ति हुन् । किनकि, जहाँ स्वार्थ मिल्छ त्यहीँ अटाउने ब्यक्ति हुन् ।
अब राजनैतिक क्षमताको कुरा गर्ने हो भने आफ्नो जिल्लाको काङ्ग्रेसको सभापतिको चुनावमा पनि आफ्नो गुटको मान्छेलाई जिताउन सकेनन् र पनि काङ्ग्रेस पार्टीमा उनको चुरीफुरी रहीरह्यो ।
नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले एक अन्तरवार्तामा ‘रामचन्द्र पौडेल घमण्ड, लोभ-लालच र भिजन नभएको नेता भएकोले म पौडललाई नेता मान्दिनँ, पौडेलको टिमबाट म बाहिरिएको छु’ भनेको कुरा अहिले पनि ताजै छ । उक्त अन्तरवार्तामा पौडेलले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई दुःख मात्रै दिएको अभिव्यक्ति दिएकी थिइन् ।
कुनैबेला सांसदको चुनावमा आफ्नै जिल्लामा आफूसहित ६ सिट पनि हार्ने अनि सभापति चाहियो भनेर रोइलो गर्ने रामचन्द्र पौडेल १३औँ महाधिवेशनमा पार्टीको सभापतिमा देउवासँग पराजित भएका थिए, तर पछि गएर १४औँ महाधिवेशनमा शेरबहादुर देउवाको समर्थक बनेका थिए भने, यिनै पौडेल नेपालको इतिहासमा प्रधानमन्त्रीको पदमा १७ चोटिसम्म चुनाव लडेर पराजित हुने ब्यक्ति पनि हुन् ।
पौडेलको राजनैतिक अस्थिरताले त इतिहास नै बनाइएको छ । सुरुमा नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेर फाइदा लिएका पौडेलले पछि भट्टराईको साथ छाडेर गिरिजाप्रसाद कोइराला समूहसँग निकट हुन चाहँदाचाहँदै पनि निकट बन्न नसकेको कारणले उनी शेरबहादुर देउवासँग नजिक बन्न पुगे । तथापि, शेरबहादुर देउवाले २०५९ मा नेपाली काङ्ग्रेस विभाजनको घोषणा गर्दा पौडेलले उनको साथ नदिएर धोका दिएका थिए । त्यसबखत अन्तिम समयसम्म पनि देउवाले पौडेललाई कुरेर बसेका थिए ।
भारतको संसद् भवनमा अखण्ड भारतको नक्सा राख्नु, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु, राष्ट्रपति बन्नेबित्तिकै सूर्यबहादुर थापाको छोरा सुनिल थापालाई राजनैतिक सल्लाहकार बनाउनु । महाकाली सन्धिसम्बन्धित मुख्य दुई पात्रहरूलाई राष्ट्रपति र सभामुख बनाउनु जस्ता सुनियोजित ढङ्गले गरिएको सिक्किमको घटनाको याद दिलाउँछ ।
सिक्किम विलयमा लेण्डुपलाई साथ दिने एक जना विद्वान् जो धाराप्रवाह भाषण गर्न सक्थे, त्यो व्यक्तिको नाम पनि रामचन्द्र पौडेल (आरसी) थियो । विलयपछि उनले भारतलाई गरेको सहयोगको कारणले उनलाई ठूलो पछुतोले भएको थियो र, उनले बाँकी जीवन योगी भएर गीता ज्ञान प्रचारमा लागेका थिए । आशा छ हाम्रो लागि यो एउटा संयोग मात्र हुनेछ । तैपनि, इतिहास जस्ताको त्यस्तै दोहोरिँदैन तर इतिहासले एउटै भाकामा गीत गाउन भने सक्छ ।
महाकाली सन्धिको ड्राफ्ट नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेकपा एमालेका माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पशुपतिशमशेर राणा सम्मिलित टिमले तयार पारेको थियो । रामचन्द्र पौडेल राष्ट्रपति बन्नेबित्तिकै उनले नागरिक विधेयकलाई लालमोहर लगाइदिए । यसको सम्भावित जोखिमबारे हेक्का कसले राख्ने ? खोइ जवाफदेहिता ?
राष्ट्रपतिको नियुक्त हुनेबित्तिकै पहिलो भाषण नै हिन्दी भाषामा गरेर चर्चा बटुलेका रामचन्द्र पौडेलले हत्या आरोपमा पक्राऊ परेका अपराधीलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिनेलगायतका जो कुकर्म गरे, यसको फल त देशले भोग्ने नै छ !
उनले फेरेको यो बोली कुनै नयाँ होइन । किनकि, मुखले एउटा ब्यवहारमा अर्को गर्ने कला यिनको पुरानो हो । केही थान कार्यकर्ताले रोइलो गरेका थिए, महान् र महानताको धज्जी उडाउने गरी । आजको लाजको पसारो धोती उडेको छ रामचन्द्र चरित्रको । कठै… जनताले भोग्न पाएको गणतन्त्र ! धिक्कार छ !!